नर्वे, साउन ११ । प्रवासी नेपाली मञ्च नर्वेको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित हुनुभएको छ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न पाँचौं राष्ट्रिय अधिवेशनबाट पौडेलको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
प्रवासी नेपाली मञ्च नर्वेको पाँचौं अधिवेशन यही जुलाई २१ तारिक सम्पन्न भएको हो । अधिवेशनले उपाध्यक्षमा युवराज भण्डारी, सचिवमा बिनोदप्रसाद सापकोटा र उपसचिवमा देव श्रेष्ठलाई सर्वसम्मत निर्वाचित गरेको छ ।
यस्तै सदस्यहरुमा राजकुमार श्रेष्ठ, दिलिप पाण्डे, श्रवणकुमार उप्रेती, केशव भुसाल, सुलोचना आचार्य ढकाल, बाबुराम भट्टराई, केशव बिक, निशा न्यौपाने खनाल, नविन अर्याल र भरत कार्कीलाई निर्वाचित गरेको छ । अधिवेशनले एक जना उपसचिव चयन गर्ने अधिकार नवनिर्वाचित कार्यसमितिलाई दिएको छ ।
अधिवेशन आयोजक समितिका संयोजक प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनमा आफ्नो धारणा राख्दै प्रमुख अतिथी शेर्पाले प्रवासी नेपाली मञ्च प्रवासमा रहेका सवै नेपालीको पीडामा मल्हम लगाउने सामाजिक संस्था भएको भन्दै सोही अनुसार काम गरी संगठनप्रतिको आकर्षणमा थप बृद्धि गर्न निर्देशन दिनुभयो ।
सचिव शेर्पाले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अघि बढाउनु भएको समृत नेपाल : सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफल पार्न प्रवासमा रहेका नेपालीलाई गोलवन्द गर्न पनि निर्देशन दिनुभएको थियो । सम्बोधनको क्रममा सचिव शेर्पाले नर्वेमा नेपालीको आगमन संख्या दिनप्रतिदिन बढिरहेको र कुटनीतिक नियोग नभएको कारण समस्या झेल्नुपरेको बिषयमा आफू र मञ्च जानकार रहेको भन्दै कुटनीतिक नियोग स्थापनाका लागि पहल गर्ने बताउनु भयो ।
‘प्रवासी नेपाली मञ्च नर्वेमा कुटनीतिक नियोग स्थापनाका लागि प्रतिवद्ध रहेको छ । अन्तराष्ट्रिय कमिटीले बिशेष पहलकदमी गरेर यहाँ कुटनीतिक नियोग स्थापना गराउन भूमिका खेल्छ,’ सचिव शेर्पाले भन्नुभयो ।
अधिवेशनमा प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटी सदस्य प्रेमलाल नेपाली, प्रवासी नेपाली मञ्च नर्वेका निवर्तमान अध्यक्ष मनोज अधिकारी, स्पेन अध्यक्ष केदारनाथ ढुंगाना, पूर्वअध्यक्ष बिश्वास बजगाई, नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य उद्धव बिष्ट, गैर आवासीय नेपाली संघ नर्वेका अध्यक्ष बिष्णु गौतम, नेपाली जनप्रगतिशील मञ्च अध्यक्ष डिलाराम चापागाईलगायतका नेताहरुले शुभकामना दिनुभएको थियो ।
अधिवेशनबाट निर्वाचित अध्यक्ष पौडेलसहित पदाधिकारी र सदस्यहरुलाई अन्तराष्ट्रिय कमिटीका सचिव शेर्पाले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो । शपथपछि नवनिर्वाचित अध्यक्ष पौडेलले संगठनको हितलाई पहिलो प्राथमिकतामा राखेर निर्देशन बमोजिम काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । यस्तै उहाँले आफूलाई नेतृत्वमा स्थापित गराउन भूमिका निर्वाह गर्ने राष्ट्रिय कमिटीका सवैदेखि नेताहरुप्रति आभार प्रकट गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्