रौतहट, ११ साउन । पछिल्लो समय भारतीय सहरहरू बाट सर्दैगर्दा रौतहटमा एचआइभी एडस संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षमा जिल्लाको १८ स्थानीय तहमा कुल संक्रमितको संख्या ४७४ पुगेको हो । त्यस अघिको आर्थिक बर्ष २०७९/०८० मा एचआइभी एड्स संक्रमितको संख्या मात्र ३३२ रहेको थियो। एक बर्षको अवधिमा जिल्लाभरीमा १४२ जना एचआइभी एडस संक्रमित बढेको संक्रमितहरुको रोकथाम तथा सचेतना सम्बन्धी काम गदैआएको सप्तरंगी नेपाल चन्द्रनिगाहपुरकी संयोजक जिना राना मगरले बताएकी छिन् ।
सबैभन्दा बढी राजपुर नगरपालिकामा एचआइभी एडस संक्रमित देखिएको छ । राजपुरमा ६३ जना संक्रमित रहेको संयोजक मगरले जानकारी दिएकी छिन । दोश्रोमा इशनाथ नगरपालिकामा अहिले सम्म ५२ जना संक्रमित रहेका छन । चन्द्रपुर नगरपालिकामा अहिले सम्म ३७ जना संक्रमित रहेका छन।यसैगरी गौर नगरपालिकामा ३५, गुजरामा २० जना, फतुवा बिजयपुरमा १०, कटहरियामा २०, बृन्दावनमा १०, गढीमाइमा ११ जना संक्रमित रहेको संयोजक रानाले जानकारी दिनुभएको छ ।
यस्तै माधब नारायण नगरपालिकामा १२, गरुडामा १९, देवाही गोनाहिमा २०, मौलापुरमा १५, बौधीमाइ मा २०, परोहामा २५, राजदेबी नगरपालिकामा २५ र यमुनामाइ २१, दुर्गाभगबती गाउपालिकामा २० जना तथा अन्य ३४ जना गरी रौतहटमा ४ सय ७४ जना संक्रमित रहेको तथ्याङकमा उल्लेख गरेको छ ।
२०७१ साल यता जिल्लामा एचआइभी एडस रोगको कारण ४२ जनाको मृत्यु भएको प्रादेशिक अस्पताल गौरका एचआइभी एडस शाखाका प्रमुख शेष असरफ अलीले जानकारी दिनुभयो । एचआइभी एडस संक्रमितको उपचार सहज भएकाले रोग लागेको शंका लागेमा समयमै उपचार गर्न अस्पतालमा आउन सकेमा अनाहक मृत्युबाट जोगिनसक्ने डाक्टर ठाकुरले जानकारी दिनुभएको छ ।
जिल्लाको दक्षिणीभेग भारतीय सीमामा संग जोडिएको राजपुर, ईशनाथ नगरपालिकाका अधिकांश युवाहरु रोजगारीको लागि भारतको कलकता, मुम्बई, दिल्ली लगायतका सहरहरूमा जानेगरेको र उक्त भारतीय सहरहरूमा खुल्ला वेश्यावृत्ति हुनेगरेको कारण एचआईभि संक्रमितको संख्या बढ्दै गएको जानकारहरूको ठम्याई रहेको छ । शिक्षा र चेतनाको अभावले अती बिपन्न तथा पिछडिएका वर्गबाट भारतीय सहरमा रोजगारीका लागि जाने यहाँका युवकहरु सुरक्षाको साधन अपनाउन लापरवाही गरेको कारण संक्रमितको संख्या बढ्दै गएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्