जनता टाइम्स

२३ आश्विन २०७६, बिहीबार १७:०९

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण : उच्च सुरक्षा सतर्कता, बिमानबाटै ओरालिए चार जना भारतीय भिच्छु


काठमाडौं, असोज २३ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको छ । छिमेकी मित्रराष्ट्र चीनका प्रमुख कार्यकारीबाट लामो समयपछि हुन लागेको नेपाल भ्रमणको समयमा फ्रि तिब्बतधारीले बिरोध जनाउन सक्ने बिशेष सूचनाका आधारमा सवै सुरक्षा निकायले उच्च सतर्कता अपनाएको हो ।

चिनिया राष्ट्रपति सी नेपाल भ्रमणमा रहेको बेला फ्रि तिब्वतका नेता दलाई लामाका समर्थकले कुनै न कुनै घटना घटाउन सक्ने देखिएपछि नेपाल प्रहरीले स्थलगतदेखि हवाई यातायातमा समेत कडाई गरेको छ । यहीक्रममा मोरङ प्रहरीले आज चार जना भारतीय बौद्ध भिच्छुलाई काठमाडौं आउन रोक लगाएको छ । बिराटनगरबाट सौर्य एअरलाइन्समार्फत काठमाडौं आउन लागेका चारै जना भिच्छुलाई प्रहरीले बिमान चढने बेला आफ्नो नियन्त्रणमा लिएको हो । केही समयको सोधपुछपछि उनीहरुलाई भारतमै फिर्ता पठाइएको १ नं प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी ठाकुर ज्ञवालीले जानकारी दिनुभयो ।

‘उनीहरु पोखरामा एउटा स्कूलले बोलाएर आएको रहेछन, हामीले आवश्यक कागजात हेरेपछि यो समयमा काठमाडौं जान रोक लगाएका हौं,’ डिआइजी ज्ञवालीले जनताटाइम्ससँग भन्नुभयो । प्रहरीका अनुसार भिच्छुको भेषमा दलाई लामाका समर्थक फ्रि तिब्वतधारी काठमाडौं आउने पूर्वसूचना पाएको आधारमा प्रहरीले उनीहरुलाई रोक लगाएको हो । सौर्य एअरलाइन्सबाट आज बिहान ११ बजेको उडानमार्फत काठमाडौं आउन लागेका चार जना भिच्छुलाई प्रहरीले बिमान चढन रोक लगाएपछि उडानसमेत आधा घन्टा ढिला भएको थियो । बिमानस्थल प्रहरीले प्रदेश प्रमुख ज्ञवालीकै आदेशमा उनीहरुलाई बिमान चढन नदिएको हो ।

‘भिच्छुको भेषमा रहेका सवै फ्रि तिब्वतको पक्षमा काठमाडौंमा प्रदर्शन गर्न आएको सूचनाका आधारमा हामीले माथिल्लो निकायमा जानकारी गराएर काठमाडौं जान रोक लगाएका हौं, अनुसन्धानपछि थप जानकारी दिन सकिन्छ,’ बिमान चढने बेला रनवेमै आइपुगेका एक अधिकृतको भनाई थियो । बिशेष निगरानीसहित उच्च सुरक्षा सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएकोले कडाई गरिएको र सवैमाथि निगरानी बढाएको ती प्रहरी अधिकृतको भनाई थियो । आवश्यक अनुसन्धानपछि प्रहरीले चारै जनालाई चिनियाँ राष्ट्रपतिको भ्रमणपछि आउने गरी भारतमै फिर्ता पठाएको छ ।

‘शंकास्पद देखिएकोले अनुसन्धान अघि बढाएका थियौं, बोलाउने स्कूलको पहिचान खुलेपछि बिद्यालयलाई समेत जानकारी दिएर उच्चस्तरीय भ्रमणपछि मात्रै कार्यक्रम गर्ने गरी भारतमै फिर्ता पठाएका हौं,’ डिआइजी ज्ञवालीले जनताटाइम्ससँग भन्नुभयो । गृह मन्त्रालय स्रोतका अनुसार चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई लिएर अहिले सवै बिमानस्थलदेखि काठमाडौं प्रवेश गर्ने नाकाहरुमा सुरक्षा जाँच कडा पारिएको छ । यही क्रममा काठमाडौंमा तिब्बती शरणार्थीहरु धमाधम पक्राउ पर्न थालेका छन । सीको भ्रमणमा तिब्बती शरणार्थीले विरोध प्रदर्शन गर्न सक्ने आँकलन गर्दै नेपाल प्रहरीले ‘स्वतन्त्र तिब्बत’ को नारा लेखेको टिसर्ट, झोला र ब्यानर प्रयोग गर्नेहरुलाई पक्राउ गर्दै अनुसन्धान अघि बढाएको हो ।

चीनका राष्ट्रपति सी यही शनिबार दुई दिने नेपालको राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ । सी असोज २५ गते भारतको चेन्नईबाट सोझै काठमाडौं आउने र २६ गते आइतबार बेइजिङ फर्कने कार्यसूची दुवै देशका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरिसकेका छन । राष्ट्रपति सी नेपाल आउने तिथि घोषणासँगै प्रहरीले फ्रि तिब्वतधारीलाई निगरानी बढाएको हो । केही दिनभित्र मात्रै काठमाडौंको बौद्ध र ललितपुरको जावलाखेलबाट पाँच जना तिब्बती शरणार्थी र एक जना नेपालीलाई पक्राउ गरी सोधपुछपछि छाडिएको थियो । ‘स्वतन्त्र तिब्बत लेखेको लोगो भएको ज्याकेट, टिम टीवेट–०८ लेखेको टिर्सट, ज्याकेट र झोला लगाएको र बोकेको अवस्थामा उनीहरूलाई पक्राउ गरी अनुसन्धानपछि छाडिएको हो,’ प्रहरी प्रधान कार्यालयका एक अधिकृतले भने ।

प्रहरीले यही असोज १७ गते ३६ वर्षीय फुरी शेर्पालाई ‘स्वतन्त्र तिब्बत’ को लोगो भएको कालो ज्याकेट लगाएको अवस्थामा गोकर्णबाट पक्राउ गरेको थियो । दुई घण्टाको अनुसन्धानपछि सोही दिन उनी रिहा भए । प्रहरीले उनको कोठासमेत खानतलासी गरेपछि मात्र निर्दोष भएको जनाई रिहा गरेको थियो । यस्तै प्रहरीले असोज १९ गते दुई तिब्बती शरणार्थी ‘स्वतन्त्र तिब्बत’ र ‘टीम टीवेट–०८’ लेखेको टीसर्ट लगाएको अवस्थामा जावलाखेलबाट पक्राउ गरेको छ । २२ वर्षीय तेन्जिङ धुन्डुप र २४ वर्पीय तेन्जिङ थुदर पक्राउ परेकै दिन बौद्धबाट पनि अरु दुई जना तिब्बती शरणार्थीलाई प्रहरीले पक्राउ गरेको थियो ।

बौद्धबाट २८ वर्षीय निमा छम्जि र ३९ वर्षीय मिङमा डोमा पनि ‘स्वतन्त्र तिब्बत’ र ‘टीम टीवेट–०८’ लेखेको टिसर्ट लगाएको आरोपमा नै पक्राउ परेका हुन । बौद्धबाटै असोज २१ गते ‘टीम टीवेट–०८’ लेखेको टीसर्ट लगाएका टासी छोर्टेन पनि पक्राउ परेका हुन । सन् २००८ मा काठमाडौंमा तिब्बती शरणार्थीले चीनविरुद्ध प्रदर्शन गर्दा ‘टीम टीवेट–०८’ लेखिएका टिसर्ट प्रयोग गरेका थिए । अहिले फेरि त्यही नारा लेखिएका टिसर्टधारी भेटिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।