जनता टाइम्स

२३ आश्विन २०७६, बिहीबार १८:०९

बलात्कारका आरोपी महरा केही दिन अस्पतालमै रहने


काठमाडौं, असोज २३

थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई उपचारका लागि केही दिन अस्पतालमै राखिने भएको छ । महरालाई आजै साँझ राजधानीको नर्भिक अस्पताल भर्ना गरिएको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार स्वास्थ्य अवस्था असामान्य देखिएपछि चिकित्सकहरुले महरालाई अस्पतालमै राख्ने निधो गरेका हुन् । ‘चेकजाँचपछि उहाँको स्वास्थ्य अलि असामान्य देखियो’, डीएसपी बोगटीले भन्नुभयो, ‘स्वास्थ्य अवस्थालाई ध्यान दिँदै केही समय अस्पतालमै राख्ने कुरा भएको छ ।’

उच्च रक्तचाप, मधुमेह र अक्सिजन अभाव जस्ता समस्याबाट पीडित महराको यसअघि पनि स्वास्थ्यमा समस्या देखिएको थियो । उनको स्वास्थ्य अवस्था शुक्रबार विहानदेखि झनै बिग्रिएपछि अस्पताल भर्ना गरिएको हो । स्वास्थ्य अवस्था बिग्रिए पनि महरा भने अस्पताल जान मानेका थिएनन् ।

उपचारका लागि अस्पताल जान नमानेपछि हिरासतमै अक्सिजन दिइएको थियो । उनले आज विहानसम्म पनि उपचारका लागि अस्पताल जान मानेका थिएनन् । संसद सचिवालयमा कार्यरत शाहीले बलात्कारको आरोप लगाएपछि महरा सोमबारदेखि प्रहरी हिरासतमा रहेका छन् । उनी महानगरीय प्रहरी वृत्त अनामनगरको हिरासतमा रहेका छन ।

सरकारी वकिल कार्यालयमा बयान दिँदा दिँदै स्वास्थ्य समस्या आएपछि महरालाई अस्पताल लगिएको हो । उनलाई सिंहदरवारस्थित प्रहरी हिरासतबाट आजै बयानका लागि सरकारी वकिलको कार्यालय बबरमहल लगिएको थियो । महरा पहिलेदेखि नै विरामी रहेका थिए । त्यसैले उनको उपचारका लागि एक जना चिकित्सक नै खटाइएको थियो । साथै अक्सिजनको पनि व्यवस्था गरिएको थियो ।