जनता टाइम्स

२३ आश्विन २०७६, बिहीबार १८:२८

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गरे प्रवासी नेपालीका पीडा हटाउने यस्तो अठोट


पर्वत, असोज २३ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दैनिकजसो सयौंको सङ्ख्यामा रोजगारीका लागि युवा विदेशिनु दुःखद् भएको बताउनुभएको छ । मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर र लगानीको वातावरण रहेपनि बेरोजगारीको सङ्ख्या बढ्नु बिडम्बना भएको बताउँदै उहाँले रोजगारी सिर्जनालाई तीनै तहका सरकारले जोड दिनुपर्ने बताउनुभयो ।

दक्षिण पर्वतको हुवासमा आज आयोजित अन्तर्राष्ट्रिय पर्वत समाजको दोस्रो अधिवेशनमा अध्यक्ष तिमिल्सिनाले दुई तिहाई बहुमतको सरकार गठन भएपछि मुलुकमा विकास निर्माणले पनि गति लिएको र लगानीको समेत वातावरण बन्दै गएको उल्लेख गर्नुभयो ।

सीमित स्रोत साधन र भौगोलिक विकटताका कारण नेपाल आर्थिक रुपमा सवल हुन अझै केही वर्ष लाग्ने बताउँदै उहाँले ऊर्जा, उद्योग, जडीबुटी र पर्यटनको क्षेत्रमा लगानीकर्तालाई आकर्षित गर्न गैरआवासीय नेपालीलाई आग्रह गर्नुभयो । उहाँले प्रवासी नेपालीका पीडामा मलम लगाउन आफूले सक्दो सहयोग गर्ने अठोटसमेत गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदम गिरीले प्रवासी पर्वतेलीको सङ्गठन अन्तर्राष्ट्रिय पर्वत समाजले जिल्लामा लामो समयदेखि पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले जिल्लाको आर्थिक, सामाजिक र भौतिक विकासका लागि साझेदारी गरेर अघि बढ्न तयार रहेको बताउँदै लगानीका क्षेत्र पहिचान गरी प्रवासीले आर्जन गरेको पूँजीलाई एकत्रित गरेर लगानी गर्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा एनआरएनएका उपाध्यक्ष कुल आचार्यले प्रवासी नेपालीको समस्या समाधानका लागि सरकारले गर्नुपर्ने कामको बिषयमा आफ्नो धारणा राख्नुभएको थियो । आचार्यले संसारभरी फैलिएका पर्वतवासीहरुबीच चिनजान, सरसहयोग र सद्भाव बढाउने यस्तो कार्यक्रम सफल बनाउन भुमिका खेल्ने सवैलाई धन्यवादसमेत दिनुभयो ।