जनता टाइम्स

२३ आश्विन २०७६, बिहीबार १८:४८

अस्ट्रेलियामा १८ हजार नेपालीको स्वरमा जब गुञ्जियो नेपाल नेपाल


क्यानबेरा, असोज २३

अस्ट्रेलियाको घरेलु मैदान क्यानबेरामा रक्षात्मक प्रदर्शन गरेको खेलमा नेपाल अस्ट्रेलियासँग ५ – ० ले पराजित भएको छ । नेपालले अन्तर्राष्ट्रिय फुटबलमा अहिलेसम्मकै उच्च वरीयताको टोली अस्ट्रेलियासँग पहिलो पटक खेलेको हो ।

विश्व वरीयतामा १६१ औँ स्थानमा रहेको नेपालभन्दा ११७ औँ स्थानमाथि रहेको अस्ट्रेलिया ४४ औँ स्थानमा छ । उनीहरूको घरेलु मैदानमा धेरै गोल खान सक्ने कतिपयको अनुमान विपरीत नेपालले शुरूदेखि नै रक्षात्मक तर आत्मविश्वासयुक्त खेल प्रदर्शन गरेको थियो । क्यानबेराको जिआईओ रङ्गशालामा उपस्थित १८ हजार नेपाली समर्थकले नेपाललाई खेलभरि हौस्याएका थिए । उनिहरुले अन्तिम पल समेत नेपाल नेपाल भन्दै खेलाडीलाई हौस्याएका थिए ।

अनुमान गरिए झैँ अस्ट्रेलियाका खेलाडीहरूले शुरूदेखि नै पोष्टमा लगातार आक्रमण थालेका थिए । उनीहरू हतारिएका थिएनन् । बलमाथि नियन्त्रण बनाउने र विना गल्ती आरामसँग आक्रमण गर्ने रणनीतिमा अस्ट्रेलियाका खेलाडीहरू देखिएका थिए । नेपाली खेलाडीहरू पनि विपक्षीलाई रोक्ने क्रममा हडबडाएका देखिएनन् । बरु छोटो छोटो पास खेलेर उनीहरूले विपक्षीलाई खुल्न दिएनन् ।

रक्षात्मक खेल्ने र मौका पाए ‘काउन्टर एट्याक’ मा जाने नेपाली प्रशिक्षक योहान कालिनको रणनीति अनुसार उनले एकजना स्ट्राइकर अभिषेक रिजाललाई मैदानमा उतारेर बाँकीलाई रक्षात्मक जिम्मेवारी दिएका थिए । खेल शुरू भएको छैटौँ मिनेटमा नेपालले गोल खान पुग्यो । तर पनि खेलाडीहरूले आत्मविश्वास भने गुमाएको देखिएन र विपक्षीका प्रहारहरूलाई निरन्तर विफल पारिरहे ।

दोस्रो हाफमा अस्ट्रेलियाको खेल सुस्ताए जस्तो देखियो । पहिलो हाफमा तीन गोल हानेको अस्ट्रेलियाले दोस्रो हाफमा दुई गोल मात्र गर्न पुग्यो । दोस्रो हाफमा नेपालले पनि विपक्षी पोष्टमा आक्रमण गर्ने अवसरहरू सिर्जना गर्‍यो । यो जितसँगै अस्ट्रेलिया विश्वकप फुटबल एशियाली छनोटको समूह बीको पहिलो स्थानमा उक्लिएको छ।

कसरी खाए गोल ?

पहिलो गोल
छैटौँ मिनेटमा पहिलो गोल जेमी म्याक्लारेनले गरे । इङलिस प्रिमियर लिग ब्राइटनबाट खेल्ने मिडफिल्डर आरोन मोयले डि बक्स बाँया पाएको फ्रि किक पोष्ट बाहिर खुला बसिरहेका ज्याक्सन इरभाइनलाई दिए । उनले पोष्टमा प्रहार गरेको बल गोलकिपर किरण चेम्जोङले राम्ररी नियन्त्रण लिन सकेन । फर्केको बलमा म्याक्लेरेनले सहजै गोल टच दिए । म्याक्लारेन जर्मनीको क्लब एसभी डर्मस्टाड ९८ बाट खेलिसकेका स्ट्राइकर हुन्।

दोस्रो गोल
१८ औँ मिनेटमा पुनस् जेमी म्याक्लारेनले गोल गरे । अस्ट्रेलियाका खेलाडीहरू दबावविहीन भएर खेलिरहेको बेला अजिज बेचिजले बायाँ छेउबाट पोष्टतिर क्रस गरेको बललाई रायन ग्रान्टले हेडबाट म्याक्लारेनलाई मिलाइदिए । गोललाइन नजिक रहेका म्याकारेनले फेरी सहजै हेडबाट बललाई पोष्टतिर टच गरिदिए ।

तेस्रो गोल
२३ औँ मिनेटमा तेस्रो गोल कर्नरबाट भयो । यतिबेला क्रायग गुडविनले गरेको कर्नरमा ह्यारी साउटरले हेडबाट गोल गरेका हुन् । स्कटल्याण्डमा जन्मेर त्यहाँ यु १७ र यु १९ खेलिसकेका साउटर अस्ट्रेलियन आमाका कारण यसै वर्ष अस्ट्रेलिया आएका हुन् । यो उनको अस्ट्रेलियाको राष्ट्रिय टोलीमा डेब्यु खेल हो र डेब्यु गोल पनि ।

चौथो गोल
५८ औँ मिनेटमा चौथो गोल पुन ह्यारी साउटरले गरे । यतिबेला भने भाग्यको पनि साथ थियो । साउटरले डी बक्सभित्र गरेको हेड गोलकिपर किरण चेम्जोङको ठिक अगाडि उभिएका दिनेश राजवंशीले रोक्न खोज्दा उनको पेटमा लागेर पोष्टतिर डिफ्लेक्ट हुन पुग्यो ।

पाँचौ गोल
खेल सकिन एक मिनेटअगाडि ८९ औँ मिनेटमा जेमी म्याक्लारेनले ह्याट्रिक गोल गरे । बललाई नियन्त्रण गर्दै उनले पोष्ट नजिक बायाँ खुट्टाले गरेको कडा प्रहार गोलकिपर चेम्जोङले रोक्न सकेनन् । (बिबिसी)