जनता टाइम्स

२३ आश्विन २०७६, बिहीबार २०:२६

वाह प्रहरी ! अपहरणपछि सामुहिक बलात्कार गरी युवतीको हत्या गर्ने योजना यसरी भयो विफल


सिरहा, असोज २३

युवतिलाई अपहरण गरी लैजान खोज्ने पाँच मध्ये तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । उनिहरुलाई बुधबार नै पक्राउ गरेपनि प्रहरीले विहिवारमात्र सार्वजनिक गरेको हो । अपहरित युवतीलाई सुरक्षित स्थान (एकान्त चौर)मा लगेर सामुहिक बलात्कार गरी हत्या गर्ने योजना प्रहरीको सक्रियताका कारण विफल भएको छ ।

अपहरणकारी युवकहरुले युवतीलाई यौन दुव्र्यवहार गर्दै प्रहरीको गस्तीका कारण सीमावर्ती गाउँतर्फ मोडिनुपरेको जीपभित्र चर्चा गरेको ती युवतीले प्रहरी समक्ष बयान दिएकी छन् । पाँचैजनाले सामुहिक बलात्कार गरेपछि हत्या गरेर फालिदिने सम्मको योजना ती युवकहरुले जीपभित्रै बनाएको समेत पीडित युवतीले प्रहरीलाई बयान दिएकी छन् । ‘भगवानले मेरो अस्मिताको रक्षा मात्र गरेनन् समयमा प्रहरी पठाएर मेरो जीवन समेत रक्षा समेत गरिदिए’, युवतीले आँशु झार्दैै भनिन्, ‘मेरो अपहरण गरी जवरजस्ती गर्नेमाथि हदैसम्मको कारवाही होस् ।’

युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरेको थियो । भारतीय नम्बरको बिआर ३२प ४२६२ नम्बरको स्कारपियोमा उदयपुर जिल्ला घर ठेगाना भएकी १६ वर्षीया युवतीलाई अपहरण गरी लगेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको हो ।

लहानस्थित दुर्गा मन्दिरमा मेला तथा सांस्कृतिक कार्यक्रम हेरेर बुधबार बिहान ३ बजेतिर फर्किरहेकी ती युवतीलाई बाटोबाटै अपहरण गरेको आरोपमा सिरहा नगरपालिका–९ निवासी २४ वर्षीय रामप्रकाश गोइत, ३६ वर्षीय गणेशकुमार यादव र सिरहा नगरपालिका–८ निवासी २२ वर्षीय नथुनी भन्ने चतुरानन्द यादवलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

उक्त गाडीमा रहेका अन्य दुई जना भाग्न सफल भएको र उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । अपहरण गरी लग्दै गर्दा बाटो छेउमै रहेको नालामा स्कारपियो फसेपछि ती युवतीले दिसा गर्न जान्छु भन्दै बहाना बनाई अपहरणकारीको कब्जाबाट भाग्न सफल भएको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।

अपहरणकारीको कब्जाबाट भाग्न सफल भएकी युवतीकै सूचनाको आधारमा प्रहरीको टोलीले गाडीसहित तीनै जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेकाको साथबाट लागुऔषध नेट्रोभेट ट्याब्लेट ३०० पिस, आठ राउण्ड गोली, पर्स एक थान र रामप्रकाश गोइतको सवारी चालक अनुमतिपत्र (लाइसन्स) र मोबाइल सेटसमेत बरामद भएको प्रहरीले जनाएको छ ।