जनता टाइम्स

१४ श्रावण २०८१, सोमबार १६:०३

नेपालमा पूर्ण स्तनपान गराउने ५६ प्रतिशत


काठमाडौं, १४ साउन । नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ५६ प्रतिशत रहेको पाइएको छ । आज स्तनपान सप्ताहको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ का अनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत रहेको पाइएको छ । यस्तै, शिशु जन्मेदेखि २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या ९४ प्रतिशत रहेको छ ।

पूर्ण स्तनपानको अवस्था सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिममा ७४ प्रतिशत छ भने सबैभन्दा कम लुम्बिनीमा ३६ प्रतिशत रहेको छ । पूर्ण स्तनपानको दर माध्यमिक तहभन्दा बढी शिक्षा लिएका आमाहरुमा कम देखिए‌को छ । न्यून आय भएकामा ६४ प्रतिशतमा र उच्च आय भएका ४४ प्रतिशतले पूर्ण स्तनपान गराउने गरेको देखिन्छ। उक्त सर्वेक्षणल नेपालमा बोतलपान गराएका शिशुको संख्या बागमती प्रदेशमा सबैभन्दा बढी ४३ प्रतिशत र कर्णालीमा सबैभन्दा कम ११ प्रतिशत रहेको देखाएको छ ।

नेपाल जनसांख्यिक तथा ग्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा ५ वर्षमुनिका २५ प्रतिशत बालबालिकाहरुमा पुड्कोपन, ८ प्रतिशतमा ख्याउटेपन, १९ प्रतिशतमा कम तौल र ८३ प्रतिशतमा रक्तअल्पता पाइएको छ। संसारभरमा हुने बाल मृत्युदरको ४५ प्रतिशत कारक कुपोषण रहेको छ । सबै प्रकारको कुपोषण न्युनीकरणमा स्तनपानको महत्वपूर्ण भूमिका हुने विज्ञहरु बताउँछन् ।