जनता टाइम्स

२४ आश्विन २०७६, शुक्रबार १७:४७

महरा–रोशनी यौनकाण्डबारे पूर्वसभामुख ओनसरी घर्तीले खोलिन मुख


काठमाडौं, असोज २४ । पूर्वसभामुख ओनसरी घर्तीले संघीय संसद, प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा र संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीको यौनकाण्डको घटनामा नेकपाका नेतासहित आफूलाई मुछेको भन्दै आपत्ति जनाउनु भएको छ । पछिल्लो चरणमा सो घटनाबारे फरक–फरक खबरहरु सार्वजनिक भईरहेको र त्यसमा आफुलाई समेत जोडेपछि घर्तीले प्रतिवाद गर्नुभएको हो ।

नेकपा प्रदेश ५ को अध्यक्षसमेत रहनुभएकी पूर्वसभामुख घर्तीले महरा रोशनी काण्डमा आफूहरुलाई कुनै जानकारी नभएको प्रष्ट पार्नुभयो । ‘सो घटनाका विषयमा त्यतिबेला र अहिलेपनि मेरो सम्बन्धित व्यक्तिहरु कसैसंग पनि कुराकानी भएको छैन, हुँदै नभएको कुरालाई लिएर तत्कालिन नेकपा माओवादी केन्द्रबाट विचलित भएका नेता गोपाल किरातीले आधारहिन अफवाह फैल्याएको र सोही आरोपलाई आधार मानेर केही संचारमाध्यम समाचारको सामाग्री समेत बनाएको देख्दा मलाई दुःख लागेको छ,’ नेतृ घर्तीले भन्नुभयो ।

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री वर्षमान पुन र आफ्नो नाम समेत जोडर तत्कालिन सभामुख महराका विषयमा अनावश्यक टिप्पणी गरेको भन्दै घर्तीले त्यस्ताखाले सबै आरोपहरु आफूले खारेज गरेको बताउनु भयो । ‘अहिले सो घटना सम्मानित अदालतको मातहतमा छ, अदालतले गर्ने फैसलालाई सम्मान गर्नु मेरो पनि कर्तव्य हो । त्यसैले यस्ता अफवाहपूर्ण प्रचारबाजीको भ्रममा नपर्न म नेता, कार्यकर्ता, पार्टी समर्थक तथा शुभचिन्तकहरुमा आपिल गर्दछु,’ पूर्वसभामुख घर्तीले भन्नुभयो ।

किँरातीले बिहीबार आफ्नो पार्टीको धारणा भन्दै महरालाई फसाउन प्रधानमन्त्री ओली, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र ओनसरी घर्ती समेत लागेको मिथ्या आरोप लगाएका थिए । पूर्वसभामुख घर्तीले आफूमाथिको आरोप पुष्टी गरेर देखाउन समेत चुनौती दिनुभएको छ ।