काठमाडौं, असोज २५
चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेवारी खाजा सेट दिइने भएको छ । आज अपरान्ह काठमाडौं आउन लाग्नु भएका उहालाई नेवारी सेट दिइन लागेको हो । यद्यपी यसलाई सलादका रुपम दिइन लागेको सोल्टी होटल स्रोतले जानकारी दिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा आउन लाग्नु भएका सी लाई आजै राति रात्रिभोज ‘स्टेटबेन्क्वयट’ आयोजना गरिएको छ । रात्रिभोजलाई चार समुहमा विभाजन गरिएको छ । साढे सात बजेबाट शुरु हुने रात्रिभोजमा एपिटाइजर, सुप, मेन कोर्ष र डिजर्ट गरी चार तहमा खानाको परिकार विभाजन गरिएको छ।
राष्ट्रपति सी ले रात्रीभोजमा नेपाली बारा तथा कुरिलो र क्वाँटी चाख्नुहुनेछ । उहाका लागि चिनियाँ खाना बनाउने सेफ भने चीनबाटै ल्याइएको छ। राष्ट्रपति सीलाई दिइने रात्रिभोजमा नेपाली, युरोपेली र चिनियाँ गरी तीन स्वादको मिश्रण रहनेछ । राष्ट्रपति सीलाई सबैभन्दा पहिला कुरिलो र क्वाँटीको नेपाली सुप सर्भ गरिने छ । त्यसपछि उहाँले बारासहितको नेपाली सलादको स्वाद चाख्नुहुनेछ । यो सबै नेपाली सेफले नै बनाएर दिइनेछन् ।
मेन कोर्षमा भने सी कै इच्छा अनुसार चिनियाँ र युरोपेली खाना खुवाइनेछ । चिनियाँ खाना सी भ्रमण टोलीमा रहेका सेफले नै बनाउनेछन् भने युरोपेली खाना सोल्टीका सेफले बनाउने छन् । मेन कोर्षमा नेपाली खानाका कुनै पनि परिकार राखिएको छैन।
रात्रिभोजमा सी भ्रमण दलमा रहेका चिनियाँ उच्च अधिकारी, नेपालबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेताहरु, सुरक्षा निकायका प्रमुखहरु र केही व्यवसायी रहने छन् । राष्ट्रपतिसँगको रात्रीभोजमा २५० जना सहभागी हुनेछन्, त्यसबाहेक अन्य १५० जनाका लागि समेत सोल्टीमा खानपिनको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्