काठमाडौं, साउन २४ । नेकपा एमालेका चार नेता यौन काण्डमा दोषी देखिएका छन । अनुशासन आयोगले उपाध्यक्ष नेत्र पन्थीको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय कार्यदलले गरेको छानविनले केन्द्रीय तहका चार नेता यौनकाण्डमा दोषी देखिएको ठहर गरेको हो ।
समितिमा समितिमा अछामका गोबिन्द कुँवर (हर्कबहादुर) र कैलालीका दीपकप्रसाद देवकोटा सदस्य हुनुहुन्छ । आयोग स्रोतका अनुसार केन्द्रीय तहमा आएको ७ नेतामाथिको उजुरीपछि आयोगले छानविनका लागि पन्थी नेतृत्वको कार्यदल बनाएको थियो ।
सो कार्यदलले उजुरीकर्ता, स्थानीय पार्टी कमिटी र नेता कार्यकर्ताहरुसँगसमेत प्रत्यक्ष सम्पर्क गरी अनुसन्धान गर्दा तीन जना नेतामा गम्भीर प्रकृतिको अनुशासनहीन कार्य भएको पाइएको छ । एक जनामा भने आर्थिक लेनदेन बढी भएको देखिएको र सोही आधारमा आरोप लगाइएको पाइएको तर उनीसमेत पूर्णरुपमा चोखो नरहेको तथ्य भेटिएको छ । आयोगले चारै जना नेतालाई कार्वाहीका लागि पार्टीमा सिफारिश गरेको छ ।
‘हामीले गरेको अनुसन्धानले तीन जनाबाट निकै गम्भीर प्रकृतिको अनुशासनहीन काम भएको देखिएको छ । एक जनाको हकमा आर्थिक लेनदेन बढी देखिएको छ तर पूर्णत चोखो भने रहेको पाइएन,’ जनताटाइम्स डटकमसँग एमाले अनुशासन आयोगका एक पदाधिकारीले भने । उनका अनुसार दोषी देखिएकालाई कार्वाही गर्न सिफारिश गरिएको छ ।
पन्थी नेतृत्वको कार्यदलले गरेको छानविन प्रतिवेदनसहित कार्वाहीका लागि सो प्रतिवेदन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई बुझाइएको आयोग स्रोतले जनाएको छ । स्रोतका अनुसार अध्यक्ष ओलीलाई आइवार र महासचिव पोखरेललाई बुधवार सो प्रतिवेदन बुझाइएको छ ।
आयोगले यौनकाण्डमा दोषी ठहर भएका चार नेताको नाम भने आन्तरिक रहेको भन्दै बताउनु चाहेन । यद्यपी चारमध्ये दुई जना कर्णाली प्रदेश, एक सुदुरपश्चिम प्रदेश र एक जना बागमती प्रदेश रहेको जानकारी दिएको छ ।
चारमध्ये बागमतीका पोलिटब्यूरो सदस्य र कर्णालीका केन्द्रीय सदस्य रहेको आयोगले जनाएको छ । बागमतीका नेताको काण्ड कल्पना नै गर्न नसकिने रहेको ती सदस्यले जनताटाइम्स डटकमलाई बताए । आयोगले स्थलगत अध्ययन, पीडित र अरु व्यक्तिहरुसँग कुरा गर्दा उहाँहरुसहित चारै जना पदमा बस्न योग्य नदेखिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्