जनता टाइम्स

२५ श्रावण २०८१, शुक्रबार १०:१३

एमालेको उच्च प्राथमिकतामा प्रवासको काम : ओएनएफको संयोजन केन्द्रीय कार्यालयबाटै, तीन नेतालाई तोकियो फरक-फरक क्षेत्रको इञ्चार्ज


काठमाडौं, साउन २५ । नेकपा एमालेले प्रवास क्षेत्रको कामलाई उच्च प्राथमिकतामा राखेको छ । केन्द्रीय सचिवालयको ३२, ३३ र ३४औं बैठकले प्रवासको कामलाई उच्च प्राथमिकतामा राखेको हो ।

बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तर पार्टी निर्देशन (अपानि) १० मा प्रवासको इञ्चार्जसमेत फेरिएको छ । यसअघि स्थायी कमिटी सदस्य डा. राजन भट्टराई इञ्चार्ज रहनुभएकोमा अव प्रवासी नेपाली मञ्च (ओएनएफ) को इञ्चार्ज केन्द्रीय कार्यालयले नै गर्ने निर्णय भएको छ ।

एमालेले प्रवासी नेपाली मञ्चको इञ्चार्ज नतोकी सिधै केन्द्रीय कार्यालयले हेर्ने निर्णय गरेको छ भने तीन क्षेत्र बिभाजन गरी तीन जना प्रभावशाली र बिज्ञ केन्द्रीय सदस्यलाई इञ्चार्जको जिम्मेवारी दिएको छ । जसअनुसार युरोप-अमेरिकाको इञ्चार्जको जिम्मेवारी पूर्वमेयरसमेत रहनुभएका युवा नेता घनश्याम पाण्डेलाई दिइएको छ ।

यसैगरी पूर्वएशियासमेत हेर्ने गरी ओसियाना इञ्चार्जमा डा. सूर्य पाठकलाई जिम्मेवारी दिइएको छ । पाठक लामो समय जापान रहेर नेपाल फर्कनुभएका नेता हुनुहुन्छ । यस्तै मध्यपूर्व इञ्चार्जमा उमाशंकर अरगरियालाई इञ्चार्जको जिम्मेवारी दिइएको छ । सम्बन्धित क्षेत्रमा रहेका प्रवासी नेपाली मञ्चका नेताहरुको चाहनाअनुसार एमालेले तीनवटै रोजेको इञ्चार्ज तोकेको हो ।

सचिवालयको बैठकबारे जानकारी दिँदै एमाले महासचिव शंकर पोखरेलले प्रवासी नेपाली मञ्चलाई केन्द्रीय कार्यालयले नै संयोजन गर्ने गरी अनुभवी तीन नेतालाई तीन क्षेत्रको इञ्चार्ज तोकेको बताउनु भयो । उहाँले यस बिषयमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीलाई बैठकमै जानकारी दिनुभएको छ ।

प्रवासको कामलाई निकै महत्वका साथ पार्टीले हेरेको छ । त्यसैकारण तीन जना नेतालाई फरक फरक क्षेत्रको इञ्चार्ज तोकेर समग्र ओएनएफलाई केन्द्रीय कार्यालयले संयोजन गर्ने नीति लिइएको हो, महासचिव पोखरेलले भन्नुभयो ।