जनता टाइम्स

२७ श्रावण २०८१, आईतवार १०:५०

प्रवासी नेपाली मञ्च अष्ट्रियाले बनायो सदस्यता दोब्बर बनाउनेदेखि सवै प्रवासी नेपालीसम्म पुग्नेसम्मका बिशेष योजना


अष्ट्रिया, साउन २७ । प्रवासी नेपाली मञ्च अष्ट्रियाले संगठनको कामलाई सवै प्रवासी नेपालीमाझ पुर्याउन विभिन्न रचनात्मक काम गर्ने निर्णय गरेको छ ।

अध्यक्ष बाबा राजेश्वरी थापाको अध्यक्षतामा बसेको प्रथम पूर्ण बैठकले संगठन बिस्तारसहित अन्य बिभिन्न रचनात्मक काम गर्ने निर्णयसहित ब्यवस्थित योजना बनाएको हो । केही समयअघि अष्ट्रिया राष्ट्रिय कमिटीको अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

अधिवेशनको क्रममा अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले आफ्नो देशभित्र रहेका सवै प्रवासी नेपालीको समस्यामा सवैभन्दा पहिला प्रवासी नेपाली मञ्च पुग्नुपर्ने निर्देशनसहित ब्यवस्थित योजना बनाएर काम गर्न निर्देशन दिएअनुरुप नयाँ कार्यसमितिले ब्यवस्थित योजना बनाएर काम अघि बढाएको अध्यक्ष थापाले बताउनु भयो ।

बैठकले दैनिक काम सम्पादन गर्न पदाधिकारी रहेको सचिवालय गठन गर्नुका साथै प्रत्येक ३ महिनामा नियमित बैठक गर्ने र दुईवटा भौतिक बैठक पश्चात एक भर्चुअल बैठक बस्ने निर्णय गरेको छ । यस्तै बैठकले सदस्यता संख्या दोब्बर बनाउने, रिक्त पदपूर्ति र सल्लाकारहरुको मनोनयन गर्न सचिवालयालाई जिम्मेवारी हस्तान्तरण गर्ने, सदस्यता शुल्क तथा लेवी नियमित गर्ने निर्णय पनि गरेको छ ।

मञ्चले छिट्टै एक दिवसीय योजना तर्जुमा कार्यशाला गर्दै २ वर्षे अल्पकालिन र दीर्घकालिन योजना तर्जुमा गर्ने निर्णय गरेको छ । बैठकमा वार्षिक क्यालेण्डर बनाई समाजमा एक सशक्त संगठनको रुपमा अघि बढाउंदै आगामी ३ महिनाभित्र संगठनको वेबसाइट बनाउने, अष्ट्रिय बिजनेश रन ( ब्गकतचष्ब द्यगकष्लभकक च्गल ) मा परोपकारी उद्देश्यका साथ सहभागी हुने, आर्थिक आत्मनिर्भरताबारे ठोस योजनासहित अर्को बैठकमा प्रस्तुत हुने र कुनै समसामयिक विषयमा एक भर्जुअल कार्यक्रम गर्ने समेत निर्णय गरेको छ ।

बैठकले गत जुन २३ मा प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अष्ट्रियाको ७ औं राष्ट्रिय अधिवेशन सम्पन्न गर्न प्रमुख अतिथिको रुपमा सहभागी प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापा, अष्ट्रिया ईन्चार्ज सरस्वती केसी, केन्द्रीय सदस्य कल्पना त्रिपाठी, केन्द्रीय सल्लाहकार परिषद उपाध्यक्ष रामशरण सिमखडा, राष्ट्रिय कमिटी स्पनेका अध्यक्ष केदार ढुङ्गाना, नेपाली दूतावास भियनाका प्रथम सचिव अनिल लम्साल, राष्ट्रिय कमिटी अमेरीकाका सदस्य श्रीमती पुनम थापा, एनआरएन अष्ट्रिया अध्यक्ष, आइसीसी सदस्य, सिंगो एनआरएन अष्ट्रिया परिवार, अष्ट्रियास्थित सामाजिक संघसंस्थाका अध्यक्षहरु तथा प्रतिनिधिहरु, व्यवसायी एवं सम्पूर्ण सहभागी तथा सहयोगीहरुलाई धन्यवाद दिएको छ ।

उक्त अधिवेशन अष्ट्रियाका लागि ऐतिहासिक र दुरगामी रुपमा संगठनलाई चलायमान बनाउन कोशेढुंगा सावित भएको ठहर बैठकले गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय कमिटी ईन्चार्ज सरस्वती केसीले शुभकामना सन्देश पठाउनु भएको थियो ।