जनता टाइम्स

३२ श्रावण २०८१, शुक्रबार ०९:०८

गठ्ठाघर दुर्घटनाबारे गृहमन्त्री लेखकको गम्भीर चासो, आइजीपीलाई दिए कठोर निर्देशन


काठमाडौं, साउन ३२ । भक्तपुरको गठ्ठाघरमा बिहीवार भएको सवारी दुर्घटनाबारे गृहमन्त्री रमेश लेखकले चासो व्यक्त गर्नुभएको छ ।

बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाबारे गृहमन्त्री लेखकले गम्भीर चासो देखाउनु भएको हो । उहाँले प्रहरी महानिरीक्षक (आइजीपी) बसन्त कुँवरसँग दुर्घटनाबारे जानकारी लिँदै दुर्घटनाको कारण खोजी गर्न निर्देशनसमेत दिनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

‘गठ्ठाघरको दुर्घटनामा के भएको हो ? दुर्घटना हुनुमा कसैको गल्ती छ कि ? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि छैन ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुस,’ आइजिपी कुँवरलाई निर्देशन दिँदै गृहमन्त्री लेखकले भन्नुभयो । बिहीबार गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतकको सनाखत भइसकेको छैन । जिल्ला प्रहरी कार्यालय भक्तपुरले आफन्त भनिएका व्यक्तिहरू सम्पर्कमा आएको र उनीहरु आज बिहान ९ बजेसम्म प्रहरी कार्यालय आइपुग्ने जनाएको छ ।

ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको छ । सो दुर्घटनामा ट्राफिक र प्रहरीको भूमिकामाथि समेत प्रश्न उठेपछि गृहमन्त्रीले चासो दिनुभएको हो । बाटो ढुकेर सवारी चालकलाई गुण्डागर्दी शैलीमा रोकेर चेकजाँचको नाममा आर्थिक असुलीको धन्दा चलाउने कामले सो घटना हुन पुगेको आरोप छ ।