भर्जिनिया, भदौ ७ । अमेरिकामा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्ले भट्ट तीन सातासम्म पनि नभेटिएपछि प्रहरीले उनका श्रीमान नरेश भट्टलाई पक्राउ गरेको छ । बिहीबार भर्जिनिया प्रहरीले मनासस पार्कस्थित घरबाटै नरेशलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यम सेभेन न्युजले जनाएको छ ।
सेभेन न्युजले नरेशलाई प्रहरीले पक्राउ गर्दै गरेको तस्बिर पनि सार्वजनिक गरेको छ । ममताको मृत्यु भइसकेको आकलन गरिएको र शव ममताकै श्रीमान नरेशले लुकाएको हुनसक्ने सुराकहरू भेटिएपछि उनलाई पक्राउ गरिएको मनासस पार्कका प्रहरी प्रमुख मारिओ ल्युगोले सेभेन न्युजसँग बताएका छन । बेपत्ता भएकी ममतालाई खोज्न त्यहाँको प्रहरीले १० वटा भन्दा बढी खोजी अपरेसन चलाएको थियो ।
बुधबार मनासस पार्कस्थित उनीहरूको घरमा प्रहरीले छापा मारेको थियो । त्यतिबेला नरेशले सहयोग नगरेको प्रहरी प्रमुख ल्युगोलाई उद्धृत गर्दै सेभेन न्युजले लेखेको छ । नरेश शंकास्पद देखिएपछि पक्राउ गरिएको र थप अनुसन्धानबाट ममता बेपत्ता भएको घटनाबारे थप कुरा पत्ता लाग्ने ल्युगोले बताएका छन ।
ममता आफू काम गर्ने भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा अन्तिमपटक जुलाई २७ मा देखिएकी थिइन । उनी जुलाई २८ सम्म साथीहरूसँग सम्पर्कमै रहेको भनिएको छ । त्यसपछि सम्पर्कमा नआएपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेका थिए । अगस्ट २ मा प्रहरी नरेश र ममता बस्ने मनासस पार्कस्थित घरमा पुगेका थिए। त्यतिबेला घरमा नरेश र उनीहरूका १ वर्षका छोरी मात्रै थिए ।
नरेशले ममता बेपत्ता भएको निवेदन प्रहरीलाई दिन अस्वीकार गरेका थिए। ममता त्यसअघि पनि पटकपटक घरबाट बेपत्ता हुने गरेको बताएर नरेशले प्रहरीलाई फर्काइदिएका थिए । ममताका साथीहरुको मौखिक उजुरीमा प्रहरीले अन्यत्र खोजी सुरू गरिसकेको थियो ।
अगस्टको ५ तारिखमा मात्रै नरेशले आफ्नी श्रीमती बेपत्ता भएको निवेदन प्रहरीमा दिएका थिए । त्यसपछि प्रहरीले तीन दिनसम्म ममताको व्यापक खोजी गरेको थियो । प्रहरीले उनका साथीहरूसँग सोधपुछदेखि स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका भिडिओहरूलाई पनि मिहीनरूपमा अध्ययन गरेको र सय जनाभन्दा बढीसँग सोधपुछ गरेको प्रहरी प्रमुख ल्युगोले बताएका छन । बुधबार नरेशकै घरमा छापा मारेपछि बिहीबार उनलाई पक्राउ गरिएको हो ।
प्रहरी प्रमुख ल्युगोका अनुसार अहिले शव लुकाएको अभियोगमा पक्राउ गरिएको हो। थप अनुसन्धानपछि अन्य विषय पनि खुल्ने उहाँले बताउनु भएको छ । प्रहरीले ममताको खोजी पनि जारी राखेको छ । ममताकी १ वर्षीया छोरीलाई प्रहरीले सामाजिक संस्थाको जिम्मा लगाएको छ । उनी सुरक्षित र स्वस्थ रहेको पनि प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्