जनता टाइम्स

२६ आश्विन २०७६, आईतवार १८:२४

कांग्रेस चियापानमा प्रधानमन्त्री ओलीले देउवासँगको ४५ बर्षदेखिको मित्रताको भेद खोलेपछि..


काठमाडौं, असोज २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो खराव सम्बन्ध हुनै नसक्ने बताउनु भएको छ । दशैं, तिहार, नेपाल सम्बत, छठलगायतका पर्वको अवसरमा कांग्रेसले आज आयोजना गरेको चियापान कार्यक्रममा पुग्नुभएका प्रधानमन्त्री ओलीले देउवासँगको आफ्नो ४५ बर्षदेखि निकट सम्बन्ध रहेको बताउनु भएको हो । प्रधानमन्त्री ओलीले देउवासँग आफ्नो ४५ वर्षदेखिको मित्रता रहेको र जेलमा समेत सँगै बसेको स्मरण गर्नुभयो ।

‘शेरबहादुर देउवाजी र म विगत ४५ वर्षदेखि साथी छौं, हामीसँगै जेल पनि बसेका छौं, लोकतन्त्र प्राप्तिका लागि हामीसँगै लडेका छौं। रामचन्द्र पौडेल र रामशरण महतलगायत अरू साथीहरू साढे चार दशकदेखिको लोकतन्त्रको सहयात्रालाई तलमाथि गर्न नदिने यात्रामा छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँको यो भनाईपछि सहभागीहरु निकै उत्साहित भएका थिए ।

प्रधानमन्त्री ओलीले कांग्रेससँग आफूहरुको सम्बन्ध राम्रो भएको पनि प्रष्ट पार्नुभयो । ‘सम्बन्ध बिग्रियो भने पनि यस्ता कार्यक्रमले सुधार गर्छ । म निम्ता मान्न आएपछि सम्बन्ध बिग्रेको भए पनि सुध्रिन्छ, नेपाली कांग्रेसका सबै मित्रहरूलाई जय नेपाल,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्रीले पत्रकारहरूले राखेको जिज्ञासालाई भने घुराउरो जवाफ दिएर जहाँ पायो, त्यही अनावश्यक प्रश्न सोध्न नहुनेतर्फ संकेत गर्नुभयो । ‘अहिले शुभकामना आदानप्रदानका बेला धूलो चकमक लगाउने कुरा नगरौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।