काठमाडौं, असोज २७
नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति सी चिनफिङ आइतबार दिउँसो स्वदेश फर्केका छन् । बिदाइ समारोहमा सी हतारमा थिएनन् । प्रस्थान गर्नुअघि आफूलाई बिदाइ गर्न गएकी समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँगै सीले नेपाली सुरक्षा तथा अन्य निकायका प्रमुख, उनको सम्मानमा प्रदर्शित झाँकीका सहभागी र बिदाइमा उपस्थित बालबालिका सबैलाई समय दिए । लाग्थ्यो, उनलाई कुनै हतारो थिएन र उनी सबैसँग संवाद गर्न चाहन्थे ।
अति विशिष्ट कक्षबाहिर निस्कनेबित्तिकै उनलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले सलाम गरेका थिए । लगत्तै सीले थापासँग कुराकानी गरे । साथमा रहेकी राष्ट्रपति भण्डारी मुस्कुराइन् । स्कुलका बालबालिकाले गरेको बिदाइलाई चासो दिँदै सीले रोकिएर आफ्नो प्रतिक्रिया दिए । बालकालिकाले चिनियाँ भाषामा भनेका थिए– ‘धन्यवाद, बाईबाई’ ।
सीले पनि आफ्नो हात उठाउँदै बाईबाईको संकेत गरे । त्यसपछि सीले नेपाल प्रहरीले देखाएको विभिन्न वेशभूषा, भाषा झल्कने सांस्कृतिक नाच अवलोकन गरे । नाचबारे चाख राख्दै सीले राष्ट्रपति भण्डारीसँग जानकारी लिए । सीले अघि बढ्ने क्रममा संवैधानिक निकायका पदाधिकारीहरू,सचिव, सुरक्षा निकायका प्रमुख, मन्त्रीगण, प्रतिनिधिसभाकी उपसभामुखलगायतसँग बिदाइ लिए । बिदाइका क्रममा सीलाई नेपाली सेनाको टुकडीले सम्मानगारत (गार्ड अफ अनर) र २१ तोपको सलामी दिएको थियो ।

त्यसपछि सेनाका उपरथीहरू, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय ईश्वर पोखरेल र उपेन्द्र यादव, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनासँग बिदाइ संवाद गर्दै सी आफ्नो विमानतर्फ लागेका थिए । राष्ट्रपति भण्डारीले उनलाई विमानसम्मै पुगेर बिदाइ गरेकी थिइन् । जाने क्रममा सीले पटक(पटक आफ्नो हात उठाउँदै बाई–बाई गरेका थिए । राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिलाई बिदाइ गरेपछि फर्केका प्रधानमन्त्री ओली निकै प्रफुल्ल मुद्रामा देखिन्थे ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र उपप्रधानमन्त्री पोखरेलसँगै अति विशिष्ट कक्षमा फर्कंदै गर्दा ओली ठाउँ(ठाउँमा रोकिँदै दुवैसँग कुरा गरिरहेका देखिन्थे । ओलीले सीको बिदाइमा प्रस्तुत प्रहरी नाच टोलीको प्रदर्शन हेर्ने इच्छा व्यक्त गरेपछि उक्त टोलीले फेरि नाच देखाएको थियो ।
त्यसपछि ओली त्यहाँ उपस्थित सबै पदाधिकारी र सुरक्षा निकायका प्रमुखलाई धन्यवाद दिँदै फर्किए । लगत्तै प्रधानमन्त्री ओलीले ट्वीट गरेका थिए, ‘नेपाल भ्रमण गरी नेपाल र नेपाली जनताप्रति देखाउनुभएको सद्भाव र सदिच्छाका लागि राष्ट्रपति सीप्रति आभार व्यक्त गर्दछु । भ्रमणलाई अभूतपूर्व रूपमा सफल पार्न लागिपर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हादिक धन्यवाद ज्ञापन गर्दछु ।’
अनि ओलीले अर्को ट्वीटमा लेखे, ‘मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रूपमा सम्पन्न भएको छ । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको छ ।’
राष्ट्रपति भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी शनिबार बेलुकी काठमाडौंमा उत्रिएका थिए । एयर चाइनाको विशेष विमानबाट त्रिभुवन विमानस्थलमा पौने५ बजे उत्रिएका सी आइतबार दिउँसो करिब दुई बजेर ५५ मिनेटमा सोही विमानबाट स्वदेश फर्किए । (कान्तिपुर)













प्रतिक्रिया दिनुहोस्