जनता टाइम्स

२७ आश्विन २०७६, सोमबार ११:२१

गोरुले हिर्काउँदा कञ्चनपुरमा वृद्धाको मृत्यु


कञ्चनपुर, असोज २७

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका अन्दाजी ७५ वर्षीया चतकली चौधरीको गोरुले सिङ्गले हिर्काउँदा मृत्यु भएको छ । आइतबार साँझ पानी खुवाउन लैजाने क्रममा गोरुले हिर्काउँदा वृद्धा गम्भीररुपमा घाइते भएकी थिइन् । तत्कालै उपचारका लागि लैजाने क्रममा वृद्धाको बाटोमै मृत्यु भएको वडाध्यक्ष बहादुर महराले बताउनुभयो ।

धानबाली हात्तीको बथानद्वारा सखाप

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटा र भमरभोजमा गरी जङ्गली हात्तीको बथानले गए राति पाँच बिघा खेतमा लगाइएको धान बाली सखाप पारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बस्तीमा छिरेको हात्तीको बथानले पाकेको धानबालीमा नोक्सानी पुर्याएपछि स्थानीय किसान निकै चिन्तित भएका छन् ।

पाकेर काट्नै लागेको धानबालीमा हात्तीको ३० देखि ३५ को सङ्ख्यामा रहेको बथानले खुट्टाले कुल्चेर र खाएर नोक्सानी गरेको वडाध्यक्ष बहादुर महराले बताउनुभयो । साँझ नपर्दै बस्तीमा छिरेका हात्ती भगाउनका लागि रातभर जाग्राम बस्नुपरेको उहाँले बताउनुभयो । दुई दर्जन बढी किसानको धानबालीमा व्यापक नोक्सानी पुगेको छ उहाँले भन्नुभयो, “गाउँका बासिन्दाको सहयोगमा हात्ती भगाउन पूरै रात खटिए पनि धानबाली जोगाउन सकेनौँ ।”

हात्तीको बथान नजिकैका बैजनाथ र भगवती सामुदायिक वनतर्फ लागेकाले मानवीय क्षति हुन नदिनका लागि वन क्षेत्र प्रवेशमा समेत रोक लगाइएको छ । दुई साता अघि पनि जङ्गली हात्तीको बथानले यस क्षेत्रका किसानका खेतमा प्रवेश गरी सात बिघा बढी जग्गाको धानबालीमा नोक्सानी गर्नुका साथै तीन जना किसानको घरसमेत भत्काएको थियो ।

प्रत्येक वर्ष यस क्षेत्रमा हात्तीको बथानले उपद्र मच्चाउँदै आएको छ । स्थानीय किसानले पूरै धानबालीमा नोक्सानी पुगेपछि स्थानीय तह, डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग क्षतिपूर्तिका लागि माग गरेका छन् ।