जनता टाइम्स

२७ आश्विन २०७६, सोमबार १३:४३

एनआरएनए स्पोट्रर्स एकेडेमी बन्यो उम्मेद्वारको प्रचारसभा, कुमार पन्तसहित दुई दर्जन बढीले मागे भोट


काठमाडौं, असोज २७ । गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसिसि) का उपाध्यक्ष कुमार पन्तले एनआरएनए स्पोट्रर्स एकेडेमीलाई पाँच लाख रुपैयाँ ब्यक्तिगत सहयोगको घोषणा गर्नुभएको छ । काठमाडौंमा आइतवार आयोजित कार्यक्रममा पन्तले सो घोषणा गर्नुभएको हो ।

एनआरएनए स्पोट्रर्स एकेडेमीको घोषणासभाबाटै पन्तले आफू भोलिबाट सुरु हुन लागेको नवौं बिश्व सम्मेलनमा अध्यक्षको उम्मेद्वारी दिने पक्का भएको भन्दै बिजयी बनाउन आम एनआरएनए डेलिगट्सलाई अपिल गर्नुभयो । ‘मलाई एनआरएनएको नेतृत्वमा बिजयी बनाउन सवैमा बिनम्र अपिल गर्दछु, म कुरा धेरै गर्दिन तर काम गरेर तपाईहरुको मनको भावना समेटने छ,’ अध्यक्षमा आफूलाई मतदान गर्न आग्रह गर्दै पन्तले भन्नुभयो ।

पन्तले आफ्नो घोषणापत्रमा स्पष्ट लक्ष्य किटान गरेको भन्दै एनआरएनएलाई सवैको सहकार्यमा अघि बढाउने प्रतिवद्धता जनाउनु भयो । अघिल्लो कार्यकालमै अध्यक्षका प्रत्यासी पन्त एनआरएनएमा सहमति कायम गराउन यस कार्यकाल अध्यक्ष हुने गरी उपाध्यक्षमा रहनुभएको हो । पन्तले छाडेपछि भवन भट्ट सर्वसम्मत अध्यक्ष हुनुभएको थियो । पन्तले एनआरएन मतदातालाई अघिल्लो अघिवेशनमा भएको त्यो सहमतितर्फ पनि ध्यानाकर्षण गराउँदै आफूहरु एनआरएनमा राजनीतिक घुस्न नदिनेमा प्रतिवद्ध रहेको बताउनु भयो ।

एकेडेमीका संयोजक सुदन थापाले सवैको सहयोग जरुरी रहेको बताएपछि पन्तले पाँच लाख दिने घोषणा गर्नुभएको थियो । संयोजक थापाले पनि सोही कार्यक्रममा कोषाध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको थियो । यस्तै अर्जुन श्रेष्ठ, हिक्मत थापा, धर्मराज अधिकारीले उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको थियो भने मदन श्रेष्ठले पनि कोषध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको थियो । सो अवसरमा दुई दर्जन बढी आकांक्षीले बिभिन्न पदमा उम्मेद्वारी घोषणा गरेका थिए ।