जनता टाइम्स

२७ आश्विन २०७६, सोमबार १८:५८

बुधबार म्यानमार जानुहुने राष्ट्रपतिको यस्तो छ भ्रमण तालिका


काठमाडौं, असोज २७

राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने राजकीय भ्रमणका लागि बुधबार म्यानमार जान लाग्नु भएको छ । म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा राष्ट्रपति भण्डारी म्यानमार जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

म्यानमारमा रहँदा उहाले राष्ट्रपति मिन्टसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । त्यस्तै, म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकीले राष्ट्रपति भण्डारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विश्व सम्पदा सूचिमा रहेको बगन जानुहुनेछ ।

११ देखी १३ औं शताब्दीमा निर्माण भएको भनिएको सो क्षेत्रमा ४ हजार ४४६ बुद्धका स्तुपाहरु रहेका छन् । यसैगरी ऐतिहासिक शहर रंगुन समेत जाने कार्यक्रम तय भएको छ । त्यहा रहेका ऐतिहासिक र सास्कृति क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

भण्डारीले म्यानमारमा रहेका नेपाली मूलका नागरिकहरूसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ । भण्डारीसँग परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली, परराष्ट्र सचिव, राष्ट्रपति कार्यलयका सचिवसहित विभिन्न निकायका अधिकारी र संचारकर्मी पनि सहभागी हुने मन्त्रालयले जनाएको छ ।