जनता टाइम्स

२७ आश्विन २०७६, सोमबार १९:५०

सांसद नै उदण्ड बनेर बिमानस्थलको काउन्टर तोडफोडमा उत्रिएपछि…


जनकपुर, असोज २७ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् । फ्लाइट डिले भएको बहाना बनाउँदै उदण्ड रुपमा प्रस्तुत भई सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसाहले जनकपुर विमानस्थलमा तोडफोड गरेका हुन् ।

सांसद साहले बिहान ११ः४० बजेको बुद्ध विमानको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउँदा एक बिरामीलाई समस्या बढ्न थालेपछि आफू आक्रोशित भएर बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको स्वीकार गरेका छन । यता, बुद्ध एयरको काउण्टर तोडफोड गरेपछि सांसद साहलाई बुद्ध एयरको व्यवस्थापन पक्षले विमान प्रवेशमै रोक लगाएको थियो । तर पछि प्रमुख जिल्ला अधिकारीको पहलमा सांसद साहले काठमाडौँका लागि उड्न पाएका थिए ।

‘जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ६५ वर्षीय सौखीलाल चौधरी किड्नी विरामी रहेछन् । उनलाई दिउसो २ बजेसम्ममा चिकित्सककहाँ पुगेर चेकजाच गराउनुपर्ने थियो । तर, विमान आउन निकै ढिला भइरहेको थियो । त्यही आवेगमा आएपछि मैले तोडफोड गरेको हुँ,’ कुनै आत्मग्लानी नदखाई सांसद साहले भने ।

बुद्ध एयरका व्यवस्थापक प्रमुख विजयकुमार सिंहले काठमाडौँ विमानस्थलकै प्राविधिक कारणले विमान ढिलाइ भएको बताउँदा पनि उनी तोडफोडमा उत्रिएका हुन । ‘हामीले यो विषयमा यात्रुहरुलाई जानकारी पनि गराएका थियौँ । तर, सांसद साह एक्कासी आएर बुद्ध एयरको काउण्टरमा तोडफोड गर्न थाल्नुभयो । हाम्रा कर्मचारीसँग दुर्व्यवहार पनि गर्नुभयो,’ सिंहले भने । सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था केहीबेर तनावग्रस्त बनेको थियो ।

वायुसेवा संचालक संघ, नेपालले भने बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद साहलाई कारवाही गर्न माग गर्दै अल्टिमेटम दिएको छ ।