जनता टाइम्स

२० भाद्र २०८१, बिहीबार १७:२२

भैरहवा र पोखरामा उडान गर्न चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्न तयार


काठमाडौं, भदौ २० । चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नका प्रतिनिधिले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान विस्तार गर्न तयार रहेको जानकारी गराएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग बिहीबार भएको भेटमा चाइना साउदर्नका प्रतिनिधिले यस्तो जानकारी गराएका हुन । मन्त्री पाण्डेको सचिवालयले जनाएअनुसार भेटमा सो एयरलाइन्सका प्रतिनिधिले पोखरा र भैरहवामा उडान गर्न उत्साहित रहेको जानकारीसमेत दिएका छन ।

४० भन्दा बढी मुलुकमा सेवा दिँदै आएको कम्पनीले अहिले काठमाडौंबाट चिनियाँ सहर ग्वान्झाओमा सिधा उडान गरिरहेको छ । एअरलाइन्सका प्रतिनिधिले पोखरा र भैरहवा उडानमा सरकारले लिएको नीतिगत सुधारको पहललाई प्रशंसा गरेको समेत मन्त्रालयले जनाएको छ ।

चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने जानकारी गराएपछि मन्त्री पाण्डेले पर्यटकीय राजधानी पोखरा र भगवान गौतम बुद्धको जन्मस्थल भैरहवा उडानका लागि सरकारले स्वागत गर्ने बताउनु भयो ।

यसबाट द्विपक्षीय हित र आपसी सम्बन्ध विस्तारमा फाइदा पुग्ने भन्दै मन्त्री पाण्डेले उहाँको भनाइ छ । यस उडानले नेपाल र चीन दुवै मुलुकलाई फाइदा पुग्ने उनको भनाइ छ ।