बार्सिलोना, भदौ २० । प्रवासी नेपाली मञ्च (ओएनएफ) स्पेनले हरितालिका तीजको अवसरमा सुन्दर शहर बार्सिलोनामा बिशेष कार्यक्रमको आयोजना गरेको छ । बिदेशमा रहेका नेपाली महिलाहरुलाई आफ्नो पीडा भुलाउन मञ्चले तीजको अवसरमा बिशेष कार्यक्रम आयोजना गरेको हो ।
प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष केदार ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सचिव तथा संगठन विभाग प्रमुख हेम शेर्पा र विषेश अतिथि प्रवासी नेपाली मञ्च युरोपका संयोजक मुक्तबहादुर गुरुङ हुनुहुन्थ्यो ।
कार्यक्रममा नेपालदेखि आएका राष्ट्रिय कलाकार पार्वती जिसीसहित स्थानीय कलाकारहरु सुमी घिमिरे सापकोटा र समी गुरुङ (मौसमी) ले आफ्नो गीत तथा नृत्यमार्फत सहभागीहरुलाई भरपुर मनोरञ्जन दिलाउनु भयो । उक्त कार्यक्रममा बार्सिलोनामा रहेका नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको अध्यक्ष केदार ढुंगानाले बताउनु भयो ।
कार्यक्रममा मञ्चका उपसचिव मोहनराज गौतमले स्वागत मन्तब्य राख्नुभएको थियो भने सम्पूर्ण संघ संस्थाहरुको प्रतिनिधित्व गर्दै एनआरएनएका अध्यक्ष पेशल कोइराला र प्रमुख अतिथी प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
आफ्नो मन्तब्यको क्रममा सचिव शेर्पाले प्रवासी नेपाली मञ्च नेपालको मौलिक संकृतिको जगेर्ना गर्दै बिदेशमा जन्मिएका र हुर्किएका नेसन्तानलाई नेपालको कला संस्कृतिसँग जोडने अभियानमा रहेको बताउनु भयो । सोही अभियानअनुसार तीजको अवसरमा बिशेष कार्यक्रम आयोजना गरेको भन्दै सचिव शेर्पाले स्पेन राष्ट्रिय कमिटीलाई धन्यवाद समेत दिनुभएको छ ।
दुई भागमा सञ्चालन गरिएको समारोहमा औपचारिक कार्यक्रमको सञ्चालन प्रवासी नेपाली मञ्च स्पेनका सचिव शिवप्रसाद गौतमले गर्नुभएको थियो भने दोस्रो चरणको सांगीतिक कार्यक्रमको सञ्चालन कलाकार समी गुरुङ (मौसमी) ले गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरुले दिल खोलेर नाचगानमा सहभागी भई मनोरञ्जन लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्