जनता टाइम्स

२७ आश्विन २०७६, सोमबार २१:०६

क्यानको निलम्बन सशर्त फुकुवा


काठमाडौं, असोज २७

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाएको निलम्बन ससर्त फुकुवा गरेको छ ।

लामो समयको प्रयासपछि आइतबार र सोमबार बसेको आईसीसी बैठकले ससर्त फुकुवा गर्ने निर्णय गरेको हो । यद्यपी यसका लागि केही शर्त राखिएको बताइएको छ । तर सो सर्तका बारेमा विज्ञप्तीमा केही पनि उल्लेख गरिएको छैन ।

नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको र निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको भन्दै आईसीसीले २०७३ बैशाखमा नेपाल क्रिकेट संघमाथि निलम्बन गरेको थियो । त्यसपछि आईसीसीकै प्रत्यक्ष संग्लग्नतामा गठन गरिएको सल्लाहकार समिति र स्वतन्त्र समितिको मातहत जिल्ला, प्रदेश र असोज ३ गते केन्द्रीय निर्वाचन सम्पन्न भएको थियो ।

चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएसँगै नेपालको निलम्बन फुकुवाको बाटो खुलेको हो । ‘नेपालले एसोसिएट सदस्यताको सीमामा रहेर सर्त कार्यान्वयन गर्ने संक्रमणकालीन समयका लागि नयाँ योजना बनाइनेछ । त्यसमा आर्थिक सहयोगमाथिको नियन्त्रण पनि समावेश हुनेछ,’ आईसीसी अध्यक्ष शशांक मनोहरलाई उदृत गरी विज्ञप्तिमा भनिएको छ ।