जनता टाइम्स

२५ भाद्र २०८१, मंगलवार २०:०८

भ्रष्टाचारबिरुद्ध आगो ओकल्ने म्यूजिक भिडियो लिएर आए अभियन्ता हेम पाठक, अभियन्ताले नै गरे सार्वजनिक


काठमाडौं, भदौ २५ । भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा स्थापित अमेरिका निवासी समाजसेवी हेम पाठकको भ्रष्टाचार विरोधी गीतसार्वजनिक भएको छ ।

हेम–सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षकसमेत रहनु भएका पाठकले रचना गर्नुभएको भ्रष्टाचार विरुद्धको गीत ‘भ्रष्टाचारको चपेटामा देश’ नामक म्युजिक भिडियो आज काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको हो ।

पूर्वमुख्य सचिव लीला गड्तौला र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अभियन्ता पाठकको म्युजिक भिडिओको लोकार्पण गर्नुभयो । कार्यक्रममा गीतकार हेम पाठकले विशेष मन्तव्य राख्दै गीत सिर्जना र संस्थाको उदेश्य र महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

गीतकार पाठकले आफू नेपालमा रहँदा तीन दशकअघि सामाजिक विकास समाज, अनामनगरमार्फत भ्रष्टाचार विरुद्धको जुलुस निकालेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सभाकक्षमा भ्रष्टाचार विरुद्धको कार्यक्रम गरेको स्मरण गर्नुभयो ।

उहाँले भ्रष्टाचार देशको बिरुद्धको ठूलै रोग भएकोले यसलाई फाल्न सवै एकजुट हुनुपर्छ भन्ने सन्देश दिन आफू गीतमार्फत आएको जानकारी पनि दिनुभयो । पाठकले बृद्ध भ्रष्टाचारीहरु मरेर गए पनि तिनीहरुको हड्डी जेलमा हालेर असुलउपर गर्नुपर्ने उदघोष पनि गर्नुभयो ।

फाउन्डेसनकी संरक्षक सरिता पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रमका सर्जक बसष्ठ वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, इतिहासविद् प्रा. डा. सुरेन्द्र केसी, सर्जक भरत जंगम र नेपाल गीतकार संघका अध्यक्ष वसन्त थापा सहभागी हुनुभएको थियो ।

कार्यक्रममा फाउन्डेसनका सल्लाहकारहरु रवीन्द्र मिश्र, रामेश्वर फुँयाल, विज्ञान शर्मा, रमेश खरेल, देवेन्द्र सिटौला र तीर्थ कोइराला, अमेरिकाका लागि पूर्व नेपाली राजदूत अर्जुन कार्की, फाउन्डेसनका नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीको समेत उपस्थिति रहेको थियो ।

यसैगरी संस्थाका भ्रष्टाचार विरुद्धका अभिव्यक्ति दूत किरण केसी (म्युजिक भिडियोका नायक), “भ्रष्टाचारको चपेटामा देश“ म्युजिक भिडियोकी गायिका कुन्ती मोक्तान, गायक शिशिर योगी र सङ्गीतकार बीबी अनुरागीसहित म्युजिक भिडियोका कलाकारहरु विद्या कार्की, रेष्मा श्रेष्ठ, राजु भुजू, आर. के. मानन्धर र म्युजिक भिडियोका निर्देशक सुदन केसी सहभागी हुनुभएको थियो ।

फाउन्डेसनका नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सञ्चालन कार्यक्रम प्रस्तोता बिबुसा बस्नेतले गर्नुभएको थियो । हेम–सरिता फाउण्डेशनले बिगत लामो समयदेखि भ्रष्टाचारबिरुद्ध बिभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।

भ्रष्टाचारबिरोधी अभियानकै लागि पाठक दम्पत्तिले अमेरिकामा फाउण्डेशन स्थापना गर्नुभएको थियो । सो फाउन्डेसनले भ्रष्टाचारविरुद्ध समाचार लेख्ने पत्रकार तथा कविहरुलाई समेत पुरस्कृत गर्दै आएको छ ।