काठमाडौं, भदौ २८ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो ।
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएकामध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्ट (संक्षिप्त सूची) मा पर्नुभएको थियो । त्यसमध्येबाट ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस भएकोमा ज्ञवाली सीईओ नियुक्त भएका हुन ।
गत साउन २७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सीईओका लागि आवेदन माग गरेको थियो । यसअघिका सीईओ सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले आवेदन मागेको थियो ।
सरकारले यसपटक प्रमुख कार्यकारी सिफारिससम्बन्धी कार्यविधि २०८१ बनाएरै नियुक्ति प्रक्रिया अघि बढाएको थियो । मन्त्रिपरिषद्को २२ साउनको बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहने गरी सिफारिस समिति गठन गरेको थियो । समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. शिवराज अधिकारी सदस्य र पूर्वअर्थसचिव राजन खनाललाई विज्ञ सदस्य हुनुहुन्थ्यो ।
सो समितिले नै संक्षिप्त सूचीमा परेकाहरुको अन्तर्वार्ता लिएर सिफारिसको निर्णय गरेको थियो । बिहीबार लगानी बोर्डको सीईओ नियुक्त हुनुभएका ज्ञवाली साउन २०७७ मा पनि लगानी बोर्डको सीईको दाबेदार हुनुहुन्थ्यो । सर्ट लिस्टमा समेत परेका उहाँ तत्कालीन सरकारले सुशील भट्टलाई नियुक्त गर्ने भएपछि ज्ञवाली अन्तर्वार्तामा नै जानुभएको थिएन ।
प्रतिक्रिया दिनुहोस्