जनता टाइम्स

३० भाद्र २०८१, आईतवार ११:३६

सुनिता र बुचले राष्ट्रपति निर्वाचनमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट मतदान गर्ने


काठमाडौं, ३० भदौ । अन्तरिक्ष स्टेशनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उहाँका साथी बुच विल्मोरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाटै राष्ट्रपति निर्वाचनमा मतदान गर्नुहुने भएको छ । स्पेस स्टेशनबाट पत्रकार सम्मेलन गरेका सुनिता र बुचले अमेरिकी चुनावमा अन्तरिक्षबाट मतदान गर्ने बताउनुभयो । भोटिङ सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा बुचले भन्नुभयो,‘आजबाटै भोटिङसँग सम्बन्धित निर्वाचन प्रक्रिया सुरु गरेको हो । यो महत्त्वपूर्ण कर्तव्य हो । नासाले हामी कसरी भोट गर्न सक्छौं भनेर काम गरिरहेको छ ।’

सुनिता विलियम्सले आफू अन्तरिक्षबाट मतदान गर्न उत्साहित भएको बताउनुभयो । ४०० किलोमिटर टाढा रहेको स्पेस सेन्टरबाट सुनिता र बुचले अमेरिकी चुनावमा मतदान गर्न हुलाक मतपत्रको व्यवस्था गर्न नासालाई अनुरोध गरेको बताउनुभयो ।

अमेरिकी राष्ट्रपतिको निर्वाचन आगामी नोभेम्बर ५ मा हुने भएपनि त्यसअघिनै पोष्टल ब्यालेटबाट मतदान गर्ने व्यवस्था गरिएको हुन्छ । सुनिता र बुच जुन ५ मा अन्तरिक्ष स्टेशनमा पुगेका थिए । उहाँहरु ६ जुनमा अन्तरिक्ष स्टेशन पुगेका थिए । उहाँहरु जुन १३ गते फर्किने थियो । तर, नासाको बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा प्राविधिक गडबडीका कारण उहाँहरुको फिर्ती स्थगित भएको थियो । अब दुवै सन् २०२५ को फेब्रुअरीमा मा मात्रै फर्किने नासाले बताएको छ ।