जनता टाइम्स

२ आश्विन २०८१, बुधबार २२:४९

रबि लामिछानेसहित २९ जना दोषी ठहर सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय


काठमाडौं, असोज २ । सरकारले सहकारी ठगीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषदको बैठकले छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । मन्त्री गुरुङका अनुसार बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा पठाएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन अगाडि बढाउने जानकारीसहित सिधै सम्बन्धित मन्त्रालयमा पठाउने जानकारी दिनुभएको थियो ।

सहकारी छानबिन समितिले सोमबार संसदमा आफ्नो प्रतिवेदन पेश गरेको थियो, जसलाई सभामुख देवराज घिमिरेले आवश्यक कारबाहीका लागि सरकारसमक्ष पठाउन निर्देशन दिनुभएको थियो ।

संसदीय विशेष समितिले सूर्य दर्शन, सुप्रिम लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचालन भएको निष्कर्षसहित पूर्वगृहमन्त्रीसमेत रहनुभएका रास्वपाका अध्यक्ष रबि लामिछाने जीबी राई, कुमार रम्तेल, छविलाल जोशीसहित २९ जनालाई कारबाही गर्न सिफारिस गरेको छ ।