सिरहा, ४ असोज । सिरहाको एक आधारभुत विद्यालयका प्रधानाध्यापकको लापरबाहीले पठनपाठन प्रभावित भएको छ । जिल्लाको गोलबजार नगरपालिका–६ डोहटियास्थित श्री जनहित आधारभूत विद्यालयकी प्रधानाध्यापक सरिता कुमारी मण्डलको चरम लापरवाहीका कारण पठनपाठन प्रभावित बनेका हुन् । प्रधानाध्यापक मण्डल र सोही बिद्यालयका शिक्षक सिबेन्द्र यादबबिच करिव दुई महिनादेखी प्रधानाध्यापकको लागि चलिरहेको विवादका कारण बिद्यालयको शैक्षिक अवस्था ध्वस्त हुँदै गईरहेको अभिभावकहरूको आरोप छ ।
करार सेवामा कार्यरत मण्डलले विद्यालयका विद्यार्थीहरूलाई उपेक्षा गर्दै आफ्नो कुर्सीको लडाइँमा समय बर्वाद गरिरहेको अभिभावकहरुको गुनासो छ । अस्थायी करार दरवन्दिको दुईजना, एकजना अनुदान, दुइजना बालविकास र एकजना कार्यालय सहयोगी सहित ६ जनाले विद्यालय चलाउनु परेको प्रधानाध्यापक सुनिता मंडलले बताउनुभयो । उहाँले भन्नुभयो,‘शिक्षक अपुग रहेकोले पठनपाठनमा समस्या भएको हो ।’ हामी विद्यालय पुग्दा बालविकासमा पढाउने दुई जना शिक्षिका रहेपनि विद्यार्थीहरु कक्षा कोठा कोही सुतीरहेको, कोही रोईकराई रहेको र केही खेलिरहेको पाइयो ।
प्रधानाध्यापक मंडललाई बोलाएर बालविकासको हाजिरी रजिस्टर हेर्दा पाँच दिनदेखि विद्यार्थीको हाजिरसमेत नभएको अवस्थामा फेला पर्यो । उक्त विषयमा प्रधानाध्यापक सुनिता मंडलले गैर जिम्मेवारपूर्वक आफूलाई यस विषयमा जानकारी नै नरहेको बताउनुभयो । विद्यालयको प्रमुखले कम्तीमा दैनिक कुन शिक्षक आए÷नआएको, कुन कक्षा कोठा खाली छ, त्यतातिर पनि नजर दिनुपर्ने हो नि ? भन्ने प्रश्नमा उहाँले थप्नुभयो,‘मैले सक्ने गरिरहेको छु । शिक्षकको अभाव छ ।’
विद्यालय रजिस्टरमा हाल २८० जना विद्यार्थीको नामाङ्क भएपनि मण्डलको व्यक्तिगत स्वार्थले शैक्षिक अवस्था खस्किन थालेपछि विद्यालयमा ८० देखि सय विद्यार्थीमात्र उपस्थित हुने गरेको छ । बाल विकासदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरूले नियमित पठनपाठन नहुँदा उनीहरूको भविष्य अन्योलमा परेको अभिभावक रामजतन साहले बताउनुभयो । उहाँले भन्नुभयो,‘मेरो दुई जना छोरा–छोरी कक्षा ८ र ४ मा अध्ययनरत छन् । पढाई नै हुन छाडेपछि अर्को विद्यालयमा पठाउने सोच बनाएको छु ।’
उहाँले थप्नुभयो,‘म आफै विद्यालयमा पुगेरै पटक–पटक प्रधानाध्यापकलाई पढाईमा सुधार गर्न अनुरोध गरे । तर, प्रधानाध्यापकले वास्ता नै गर्नुभएन ।’ उहाँले प्रधानाध्यापक मण्डल विद्यालयको शैक्षिक स्तरलाई गिराउने काम गरेको आरोप लगाउनुभयो । प्रधानाध्यापक पदमा आशिन रहन मण्डलले शिक्षा शाखाका कर्मचारी र पालिकाविरुद्ध उच्च अदालत राजविराजमा मुद्दा दायर गर्नुभएको छ । यो मुद्दाले विद्यालयको व्यवस्थापनलाई झन् अस्थिर बनाउँदै लगेको स्थानिय अभिभावकहरुको भनाई छ ।
यता, गोलवजार नगर शिक्षा शाखा प्रमुख सुवोध लामालाई विद्यालयमा पढाई नै हुँदैन भन्ने अभिभावकहरुको गुनासो छ । शाखाले यस विषयमा किन चासो लिएको छैन ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘गुनासो शाखामा पनि आएको हो । म विद्यालय गएर निरीक्षण पनि गरे । त्यहाँ शिक्षकको पनि अभाव छ । हामीले तत्कालै एकजना अङ्गग्रेजी शिक्षकलाई काजमा पठायौं तर प्रधानाध्यापकले हाजिरी हुन दिन अनाकानी गरिरहनुभएको छ ।’
उहाँले थप्नुभयो, ‘विद्यालयका प्र.अ. मंडलले नगरपालिका र म विरुद्ध उच्च अदालतमा मुद्दा दायर गर्नुभएको छ । अदालतले फैसला नसुनाएसम्म हामी केही गर्न सक्दैनौ ।’ पछिल्लो समय बिद्यालयहरुमा राजनीति गर्ने प्रवृत्ति फस्टाएको कारण तराईमा शैक्षिक अवस्था खस्किँदै गइरहेको स्थनिय बुद्धिजीवीहरु बताउँछन् । तराईमा शैक्षिक अवस्था कमजोर हुनुको मुख्य कारण केही दलिय शिक्षक र राजनीतिकर्मिहरू नै रहेको उहाँहरुको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस्