काठमाडौं, असोज ५ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा भदौ १० गते आएको भीषण बाढीमा परी ज्यान गुमाउनुभएका काभ्रेको बनेपा नगरपालिका–१० निवासी स्वर्गीय प्रह्लाद गिरीका परिवारजनसँग भेटघाट गर्नुभएको छ।
सोमबार गिरीको निवासमै पुगेर मुख्यमन्त्री थापाले शोकसन्तप्त परिवारजनसँग भेट गरी दुःख तथा समवेदना व्यक्त गर्नुभएको हो। उहाँले परिवारजनको पीडा सुन्दै यस दुःखद घटनाले गिरी परिवारसँगै सबैलाई मर्माहत बनाएको बताउनुभयो। ‘यस दुःखद घटनाले परिवारजनसँगै हामी सबैलाई मर्माहत बनाएको छ,’ भेटका क्रममा मुख्यमन्त्री थापाले भन्नुभयो।

विपद्को यस कठिन घडीमा बागमती प्रदेश सरकार शोकसन्तप्त परिवारको साथमा रहेको र आगामी दिनमा पनि साथ दिइरहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। मुख्यमन्त्री थापाले स्वर्गीय गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभयो।
‘दुःख र पीडाको यस क्षणमा परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु। स्वर्गीय प्रह्लाद गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु,’ उहाँले भन्नुभयो।
मुख्यमन्त्री थापासँगै बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री भरत केसीलगायत गिरीको निवास पुग्नुभएको थियो।












प्रतिक्रिया दिनुहोस्