न्युयोर्क (अमेरिका), असोज ८ । प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्य दूतावास खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रवासी नेपाली मञ्चसहित अमेकिरामा रहेका नेपाली समुदायका विभिन्न सङ्गठनका नेताहरुसँग आज भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीलाई भेटेर प्रवासी नेपाली मञ्चलगायत नेपाली समुदायका विभिन्न सङ्गठनले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न माग गरेपछि प्रधानमन्त्री ओलीले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
अमेरिकाको क्यालिफोर्निया राज्यमा करिब एक लाख नेपाली रहेका छन । हाल नेपालको महावाणिज्यदूतावास रहेको न्युयोर्क वा वासिङ्टन डिसीमा पुगेर सेवा लिन टाढा पर्ने भएकाले क्यालिफोर्नियाको सन फ्रान्सिस्को शहरमा कन्सुलर कार्यालय खोल्न प्रवासी नेपाली मञ्च, नेपाली जनसम्पर्क समिति, नेपाली एशोसियसन अफ नर्देन क्यालिफोर्नियालगायत संस्थाबाट माग गरिएको थियो ।
महावाणिज्यदूतावास स्थापना भएमा राहदानी नवीकरणलगायत नेपाली समुदायले भोग्नुपरेका समस्याको धेरै हदसम्म सम्बोधन हुने भएकाले ती संस्थाहरुले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न आग्रह गरेका हुन । प्रधानमन्त्री ओलीले उक्त मागप्रति आफू सकारात्मक रहेको बताउँदै नेपाल सरकारले यसबारे छिट्टै निर्णय गर्ने विश्वास दिलाउनु भएको प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले बताउनु भयो ।
‘तपाईंहरु ढुक्क भएर जानुहोस । क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने विषयमा हामीले सोच बनाइसकेका छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । क्यालिफोर्निया राज्य विज्ञान र प्रविधिको हबका साथै सिलिकन भ्यालीसमेत भएकाले त्यसबाट नेपाल र नेपालीहरुले व्यापारिक तथा प्रविधिगत लाभ लिनसक्ने मागपत्रमा उल्लेख गरिएको छ । उक्त समितिले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई पनि भेटेर सोही माग राख्नुका साथै क्यालिफोर्निया भ्रमणको निमन्त्रणा दिएको छ ।
एक पटकको नेपाली सधैको नेपाली
प्रवासी नेपाली समुदायका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई राष्ट्रसङ्घको सहभागिता र अमेरिका भ्रमण सफलताको कामना गर्दै नेपालको समृद्धि र विकासका लागि प्रवासमा रहेका नेपालीले पनि भूमिका खेल्ने जनाएका थिए । उनीहरुले दोहोरो नागरिकताका समस्या र नेपालको संविधान संशोधनका सवालबारे पनि विचारविमर्श गरेका थिए ।
प्रधानमन्त्री ओलीले नेपालीहरु जहाँ रहे पनि शिष्ट र मर्यादित हुनुपर्नेमा जोड दिँदै गैरआवासीय नेपाली सङ्घभित्र पनि विवाद भइरहने स्थिति अन्त्य हुनुपर्ने बताउनु भयो । ‘नेपालीहरु जहाँ भए पनि यस्तै हो भन्ने प्रभाव पार्नु हुँदैन । साना स्वार्थले बुझ्दै नबुझी नराम्रा व्यवहार गर्न पुग्छन, तिनीहरुलाई सम्झाइबुझाइ गरेर सही मार्गमा ल्याउनु हाम्रो दायित्व हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले एकपटकको नेपाली सधैँका लागि नेपाली हुने मान्यतासहित काम गर्न आग्रह गर्दै राजनीतिक अधिकार प्रयोग गर्नुपरेमा प्रवासको नागरिकता निस्क्रिय पारेर गर्न सकिने बताउनुभयो । प्रधानमन्त्री ओलीसँगको भेटमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा नेतृत्वको मञ्चको टोलीले बंशजको नागरिकताको निरन्तरता हुनुपर्ने आफ्नो संगठनको निश्कर्ष रहेको बताउनु भएको थियो ।
प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष थापाका अनुसार भेटमा प्रधानमन्त्री भेटमा नागरिकताको सम्वन्धमा एक पटकको नेपाली सधैको नेपाली रहने, विदेशमा वस्दा विदेशको नागरिकता सकृय, नेपालको नागरिकता निस्कृय रहने र नेपालमा वस्दा नेपालको नागरिकता सकृय विदेशको नागरिकता निस्कृय हुने बताउनु भएको छ । यस्तै अहिलेको गैर आवसीय नेपाली नागरिकता वादरको पुच्छर लौरो न हतियार जस्तो रहेको धारणाा पनि राख्नुभएको अध्यक्ष थापाले बताउनु भयो ।
यसैबीच बाल्टिमोर एशोसियशन अफ नेप्लिज इन अमेरिका (बाना) का अध्यक्ष सुबोध बिलाश पन्त नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीसँग भेटेर आफ्नो समस्याबारे जानकारी गराएको छ ।
गणतन्त्र मास्ने कुरा हुन सक्दैन
राजनीतिक प्रसङ्गमा सहभागीको जिज्ञासामा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्यमान्यता, सङ्घीयता, गणतन्त्र र मुलुकको सार्वभौमसत्ताको रक्षाजस्ता विषयमा संविधान संशोधनमा हेरफेर नहुने भन्दै संविधानलाई परिस्कृत बनाउने क्रममा संशोधन आवश्यकपर्ने बताउनु भयो । उहाँले संविधान संशोधनको विषयमा दलहरुबचि आपसी छलफल गरी सहमतिका आधारमा गरिने भएकाले तत्काल संशोधन हुन सहज नभएको पनि प्रष्ट पार्नुभएको छ ।
टेक्ससमा पनि महावाणिज्यदूतावास खोल्न माग
प्रवासी नेपाली मञ्च अमेरिका, प्रवासी नेपाली मञ्च टेक्सस राज्य कमिटीका अध्यक्ष राजु नेपाल नेतृत्वको टीमले प्रधानमन्त्री ओलीलाई भेटेर टेक्ससमा पनि नेपाली महावाणिज्यदूतावास खोल्न माग गरेका छन । ती संस्थाले त्यहाँ कन्सुलर कार्यालय खोल्नका लागि निःशुल्क कार्यालय उपलब्ध गराउने अवगत गराएका छन । प्रधानमन्त्री ओलीले त्यसबारे आवश्यक छलफल गर्ने बताउनुभएको छ ।
नेपालमा क्यानाडाको दूतावास खोल्न पहल गर्न आग्रह
यसैगरी क्यानडामा रहेका नेपाली समुदायका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई भेटेर नेपालमा क्यानाडाको दूतावास खोल्न पहल गर्न आग्रह गरेका छन् । हाल भारतमा गएर नेपालीले क्यानाडाको प्रवेशाज्ञा लिनुपर्नेलगायत समस्या भएकाले नेपालमा दूतावास खोल्नुपर्ने सुझाव उनीहरुको छ । प्रधानमन्त्री ओलीले यस बिषयमा पनि सरकारले पहल गर्ने बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्