जनता टाइम्स

२९ आश्विन २०७६, बुधबार १५:४९

रोकियो सांसद अफताब आलमको सेवा सुबिधा


काठमाडौं, असोज २९ । संसद सचिवालयले एक सूचना प्रकाशित गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका रौतहट क्षेत्र नम्बर २ का सांसद मोहम्मद आफताब आलमको सेवा सुविधा रोक्का गरिएको जानकारी गराएको छ ।

संसद सचिवालयका सचिव डा. भरतराज गौतमद्वारा हस्ताक्षर गरिएको पत्र टाँस गर्दै सचिवालयले उपसभामुखलाई आलमको पक्राउबारे जानकारी गराइएको र प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ को उपनियम ३ बमोजिम उनको सेवा सुविधा रोक्का भएको जानकारी गराएको छ।

आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले असोज २६ गते पक्राउ गरी अनुसन्धान गरिरहेको छ। प्रहरीले उनलाई मंगलबार अदालतमा पेश गरी थप अनुसन्धानका लागि सात दिनको समय थप गरिसकेको छ ।