जनता टाइम्स

२९ आश्विन २०७६, बुधबार १६:०५

पशुपतिमा फेला पर्यो ४५ किलो सुन


काठमाडौं, असोज २९ । पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो । त्यस प्रतिवेदनको चर्काे आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजग्गा अध्ययन एवं छानबिन समितिले पुनः खोजी गर्दा ४५ किलो सुन चढाइएको तथ्य फेला परेको हो ।

समितिले पशुपति भण्डार तहबिल कार्यालयलाई ‘भक्तजनले चढाएको सुन र चाँदीको सम्पूर्ण विवरण समावेश भएको छ, छैन ? नभएको भए हालसम्मको विवरण खुलाई साथै तहबिलले बजार खरिद गरी चढाएको सुन र चाँदीसमेत खुल्ने गरी’ जानकारी दिन पत्राचार गरेको थियो । प्रतिवेदन आउनुअघि कोषसँग न आफ्नो जग्गाबारे कुनै प्रामाणिक अभिलेख थियो न त सुनचाँदीबारे नै । ‘पशुपतिनाथको नाममा रहेका चलअचल सम्पत्ति सार्वजनिक गरेरै छोड्छौं । गम्भीर छानबिन र विशेष ताकेतापछि करिब ४५ किलो ६३६ ग्राम सुन रहेको तथ्य फेला पारेका हौं,’ समिति संयोजक एवं कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले भन्नुभयो ।

अघिल्लो प्रतिवेदनअनुसार पशुपतिनाथमा ५६ वर्षको अवधिमा जम्मा ९ किलो २७६ .६४ ग्राम सुन देखिएको थियो । कोषमा २०४५ देखि २०५२ सम्म चढाइएको सुनको विवरण पनि अभिलेखमा थिएन । २०३५, २०३६, २०४२, २०४३, २०४४, २०५३, २०६० र २०६३ सालको पनि सुनको अभिलेख भेटिएको छैन । यसअघि प्रतिवेदनमा ३ सय १६ किलो ५८६ ग्राम चाँदी पशुपतिमा चढाइएको तथ्यांक पाइएको थियो । कोषका अनुसार, अहिले १३ सय २५ किलो ९२७ ग्राम चाँदी रहेको पाइएको छ । करिब एक हजार किलो चाँदी थप फेला परेको हो ।

यसबाहेक मुकुट आदिमा हिरा, मुगा र माणिकसमेत जडित भएको पाइएको छ । चढाइएका सुन र चाँदी मूल ढुकुटीमा राख्ने गरिन्छ । सर्वाेच्च अदालतको २०६६ पुस २७ को परमादेशका कारण मूलढुकुटी खोलेर हेर्न मिल्दैन । ढुकुटीभित्रका चलअचल सम्पत्तिबारे कोष पूर्णरूपमा अनभिज्ञ छ । भित्र राखिने चलअचल सम्पत्तिबारे कोषसँग पूर्ण अभिलेखसमेत थिएन ।

पछिल्लो अभिलेखअनुसार राणा प्रधानमन्त्री वीर शमशेर, चन्द्र शमशेर, देव शमशेर, जुद्ध शमशेर, भीम शमशेर र तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले सुन चढाएको तथ्य फेला परेको छ । महेन्द्रले ३५० तोला, त्रिभुवनले ३०० तोला, वीर शमशेरले १०२ तोला, बमबहादुर राणाले १०७ तोला सुन चढाएको देखिन्छ । विगतमा पशुपतिनाथको वार्षिक आम्दानीबाट सुन किन्ने तर अभिलेख नराख्ने प्रवृत्तिले सुनको यथार्थ अवस्था थाहा पाउन समस्या भएको संस्कृतिविद्को भनाइ छ ।