काठमाडौं, असोज १४ । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले सरकारलाई विपदबाट प्रभावितहरुका लागि १ करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग रकम हस्तान्तरण गर्नुभएको छ ।
सञ्चालक गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज उक्त सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा गुरुङले हस्तान्तरण गर्नुभएको सो चेक प्रधानमन्त्री ओलीले तत्कार्ल गृहमन्त्री रमेश लेखकलाई बुझाउनु भएको छ ।
अर्बौं रूपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व भएको महसुस गरी आफै प्रधानमन्त्रीलाई भेटेर सहयोगको चेक हस्तान्तरण गरेको गुरुङले बताउनु भयो । मन खोलेर सरकारलाई सहयोग गरेकोमा प्रधानमन्त्री ओलीले गुरुङ दम्पत्तिलाई धन्यवाद दिनुभएको छ ।
गुरुङ दम्पत्तिको फोटोसहित सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘विदेशबाट फर्के लगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो। उहाँहरुले बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक दिनु भयो। उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको छ। मीनबहादुर गुरुङको परिवारलाई धन्यवाद !!’
गुरुङले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माण गर्न ४१ करोड रूपैयाँ बराबरको सहयोग गर्नुभएको थियो । उक्त अस्पताल अहिले निर्माणाधीन अवस्थामा छ ।अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि उनीहरुको उद्धार र राहतका लागि पनि उनले १ करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग गर्नुभएको थियो । त्यसबाहेक ८० लाख रूपैयाँ बराबरको खाद्यान्न उक्त क्षेत्रमा पठाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्