जनता टाइम्स

१६ आश्विन २०८१, बुधबार ०८:२७

सूर्यदर्शन सहकारी ठगीमा थप एक जना पक्राउ, जिवी राईकी प्रेमिका रहेको खुलासा


प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेकी ती महिला जिबी राईकी ‘प्रेमिका’ भएको तथ्य खुलेको र उनको नाममा पोखरामा २ वटा घरसमेत खरिद गरिएको रहेको पाइएको प्रहरी स्रोतले बताएको छ ।

कास्की, असोज १६ । पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले गुल्मीको मुसिकोट नगरपालिका ४ स्थायी घर भई हाल ललितपुर १५ खुमलटार बस्ने ३२ वर्षीया लिला पछाईलाई पक्राउ गरेको हो ।

पछाईले गितेन्द्रबाबु (जीबी) राईसँग मिलेमतो गरी तीन करोड रूपैयाँ भन्दा बढी रकम आफ्नो बैंक खातामा लगेर चल अचल सम्पत्ति खरिद गर्ने र शेयर कारोबारमा लगानी गर्ने गरेको आरोप रहेको छ ।

सहकारी संस्थाको सेयर, बचत तथा जगेडालगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधानविपरीत हिनामिना एवं अपचलन गरी गैरकानुनी कार्य गरेको प्रहरीले बताएको छ । पछाईलाई जिल्ला अदालत कास्कीबाट ४ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेकी ती महिला जिबी राईकी ‘प्रेमिका’ भएको तथ्य खुलेको र उनको नाममा पोखरामा २ वटा घरसमेत खरिद गरिएको रहेको पाइएको प्रहरी स्रोतले बताएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ अपचलन भएको भन्दै जिबी राईसहित १९ जनाविरुद्ध गत वर्षको असोज १८ गते मुद्दा दर्ता गराएको थियो । पोखरा महानगरपालिकाको विज्ञ टोलीले तयार गरेको प्रतिवेदनले भने सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९८ रुपैयाँ बचत रहेको उल्लेख गरेको थियो ।

सूर्यदर्शन ठगीमा ४४ जना विरूद्ध पक्राउ पूर्जी जारी भएकोमा हालसम्म ८ जना पक्राउ परका छन । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई सूर्यदर्शन ठगीको आरोपमा समेत पक्राउ पूर्जी जारी भएको थियो । नोपली सहकारी स्थापनाताका सञ्चालक समितिमा हुनुहुन्थ्यो । भारतबाट पक्राउ परेका नेपाली हाल बागलुङ र पोखरामा रहेको इमेज सहकारी ठगी अभियोगमा अदालतको आदेशबाट पुर्पक्षका लागि कारागार चलान हुनुभएको छ ।