जनता टाइम्स

३० आश्विन २०७६, बिहीबार १८:२५

रवि लामिछाने प्रकरण : जिल्ला अदालतको आदेशबारे उच्चको आयो यस्तो फैसला


चितवन, असोज ३०

आत्महत्या दुरुत्साहन मुद्दामा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेको विषयमा उच्च अदालत हेटौंडाले जिल्ला अदालत चितवनको फैसला सदर हुने निर्णय सुनाएको छ ।

उच्च अदालतले बिहीबार रवि र सरकारी पक्षको निवेदनमा सुनुवाइ गर्दै धरौटी माग गर्ने जिल्लाको आदेश सदर गरिदिएको हो । तर, अन्य आदेश भने बदर गरिदिएको छ । उच्च अदालतले विदेश जान अनुमति लिनुपर्ने, घटनासँग सम्वन्धित कार्यक्रम सञ्चालन गर्न नपाउने जस्तो शर्तहरु भने बदर गर्ने आदेश दिएको छ । जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख र सञ्चारकर्मी युवराज कडेँललाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।

उच्च अदालतका न्यायाधीशद्धय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशको यस्तो आदेश दिएको हो । जिल्ला अदालत चितवनको आदेश विरुद्ध लामिछानेले उच्च अदालत पाटन अन्तर्गतको हेटौंडा इजलाशमा दिएको निवेदनको दोस्रो सुनुवाइ गर्दै जिल्ला अदालतको आदेश सदर गर्ने निर्णय सुनाएको हो ।

जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले भदौ २३ गते निवेदन दिएका थिए । लामिछानले निवेदन दिएको भोलिपल्ट भदौ २४ गते सरकारी पक्ष पनि अदालत पुगेको थियो । दुवैको निवेदनमा उच्च अदालतले जिल्लाको फाइल मगाउने आदेश गरिसकेको छ ।