जनता टाइम्स

२० आश्विन २०८१, आईतवार १५:२७

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकले दियो दुई करोड सहयोग


काठमाडौं, असोज २० । नेपाल बैंक लिमिटेडले बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न प्रधानमन्त्री उद्धार कोषमा दुई करोड रुपैयाँ उपलब्ध गराएको छ ।

नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई करोडको चेक हस्तान्तरण गर्नुभएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई धन्यवाद दिनुभयो । प्रधानमन्त्री ओलीले लगानीकर्ता र उद्योगधन्दालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह पनि गर्नुभयो ।

यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाले ३ करोड ४८ लाखको चेक हस्तान्तरण गरेका थिए । मन्त्रिपरिषदले गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रुपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट सहयोग गर्ने क्रम जारी छ ।