जनता टाइम्स

२० आश्विन २०८१, आईतवार २३:५४

प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अध्यक्षमा अञ्जान कुलुङ राई निर्वाचित, यस्तो बन्यो कार्यसमिति (सूचीसहित)


दक्षिण कोरिया, असोज २० । प्रवासी नेपाली मञ्च (ओएनएफ) दक्षिण कोरियाको अध्यक्षमा अञ्जान कुलुङ राई सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

दक्षिण कोरियाको राजधानी सउलमा आज सम्पन्न आठौं राष्ट्रिय अधिवेशनले राईलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा नवराज तिमिल्सिना, सचिवमा देवेन राई र उपसचिवमा मणिराम गौतमलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा दीप थापा मगर, महेश थापा, सन्दिप चोङवाङ, राजेन्द्र तामाङ, कुवेर थापा र जीवन पौडेललाई चयन गरेको छ ।

अधिवेशनको प्रमुख अतिथी नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्माकुमारी अर्याल हुनुहुन्थ्यो भने एमाले केन्द्रीय सदस्य तथा प्रवासी नेपाली मञ्चका पूर्वएशिया र ओसियाना इञ्चार्ज डा. सूर्य पाठक र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा बिशेष अतिथी रहनुभएको थियो ।

अधिवेशनको उदघाटन समारोहमा आफ्नो धारणा राख्दै प्रमुख अतिथी एमाले सचिव अर्यालले समृद्ध नेपाल निर्माणको अभियानमा प्रवासमा रहेका सवैको दृढतापुर्वक साथ र समर्थन चाहिएको भन्दै सघाउन आग्रह गर्नुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकार मुलुक र जनतामा छाएको निराशा चिरेर उत्साहपुर्ण अवस्था निर्माणका लागि क्रियाशिल रहेको भन्दै अर्यालले प्रवासबाट समेत देशवासीमा उत्साह भर्ने काम गर्न जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा पूर्वएसिया ओसियाना इञ्चार्ज पाठक र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष थापाले प्रवासी नेपाली मञ्च नयाँ ढंगबाट संगठन बिस्तारमा लागेको जानकारी दिँदै अव हरेक राष्ट्रिय कमिटीको कामको आधारमा नेताको मूल्यांकण गर्ने परिपार्टीको थालनी गर्ने बताउनु भएको थियो ।

प्रवासी नेपाली मञ्च दक्षिण कोरिया राष्ट्रिय कमिटीकी अध्यक्ष प्रोफेशर सिर्जना नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी सदस्य एवं दक्षिण कोरिया इञ्चार्ज डा. सन्जु पौडेल, दक्षिण पूर्वी एशियाकी सहसंयोजक मीना थापासहित दक्षिण कोरियास्थित बिभिन्न नेपाली संघ संस्थाका प्रमुखहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो ।