जनता टाइम्स

२१ आश्विन २०८१, सोमबार १३:०५

प्रधानमन्त्री उद्धार कोष सहयोग गर्ने क्रम जारी : प्रभू ग्रुपका अध्यक्ष भट्टचनले दिए १ करोड ७५ लाख


काठमाडौँ,असोज २१ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि स्वदेशी र विदेशी जलविद्युत् कम्पनी र वित्तीय संस्थाहरुले आज सहयोग रकम हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रभु ग्रुपका अध्यक्ष तथा संघीय सांसद देवीप्रसाद भट्टचनले ग्रुपको तर्फबाट कुल १ करोड ७५ लाख रुपैयाँ प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री ओलीलाई अध्यक्ष भट्टचनसँगै प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लबाट २५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट २५ लाख रुपैयाँ र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माले २५ लाख रुपैयाँको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभएको थियो ।

राष्ट्रिय विपदको दुःखद घडीमा पीडित एवम् प्रभावित परीवारका लागि सहायता स्वरुप एवम् नेपाल सरकारलाई पिडीतहरुको खोजतलास, उद्धार र राहतकार्यमा सहयोग पुगोस भन्ने उद्धेश्यले प्रभु समुह अन्र्तगतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योसुरेन्स लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै समुहका अध्यक्ष भट्टचनले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रधानमन्त्री ओलीलाई १ करोड ७५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको प्रभू ग्रुपले जनाएको छ ।

प्रभु समुह अन्र्तगतका उल्लेखित संस्थाहरुबाट प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट पिडितहरुको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा सो समुहले गरेको छ । प्रभु समुहले बाढी तथा पहिरोबाट घाइते नागरीकहरुको सिध्र स्वास्थलाभको कामना र मृतकजनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना पनि गरेको छ ।सो अवसरमा प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनसहित बैंकका सञ्चालक समिति सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

यस्तै छिमेकी भारतको सबैभन्दा ठुलो जलविद्युत कम्पनी राष्ट्रिय हाइड्रोपावर कर्पोरेशन (एनएचपिसी) लिमिटेडका वित्त निर्देशक आरपी गोयलबाट एक करोड रुपैयाँ , अरुण तेस्रो जलविद्युत आयोजना लिमिटेडका प्रमुख कार्यकारी निर्देशक प्रशान्त शर्माबाट एक करोड, र प्राइम कमर्सियल बैँकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट ३१ लाख रुप्रयाँको चेक हस्तान्तरण भएको छ ।

 

सो अवसरमा प्रधानमन्त्री ओलीले हालैको बाढी, पहिरो र डुवानबाट प्रभावितलाई राहतका लागि कोषमा सहयोग गरेकामा सबैमा धन्यवाद दिनुभयो ।