जनता टाइम्स

१ कार्तिक २०७६, शुक्रबार १४:१५

चन्दननाथ नगरपालिकाले सुरु गर्‍याे ‘मेयर रोजगार कार्यक्रम’


जुम्ला, कात्तिक १

जुम्लाको चन्दननाथ नगरपालिकाले मेयर रोजगार कार्यक्रम सञ्चालन गरेको छ । चन्दननाथ नगरपालिकाभित्र रहेका १० जना युवालाई रोजगारी दिने उद्देश्यले मेयर रोजगार कार्यक्रम सञ्चालन गरेको हो । छ महीने मोटरसाइकल मर्मत तालीम दिएरपछि ग्यारेज स्थापना गर्न लगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको मेयर कान्तिका सेजुवालले जानकारी गराउनुभयो । सो कार्यक्रमको शुभारम्भ गर्दै उहाँले बेरोजगार युवालाई रोजगारी दिने प्रमुख उद्देश्य रहेको बताउनुभयो ।

तालीम लिएका १० जना युवालाई नगरपालिका जुम्लाले ग्यारेज स्थापना गर्न आवश्यक उपकरण खरीदमा ५० प्रतिशत अनुदान दिने उहाँले बताउनुभयो । बढ्दो सवारी साधनलाई मध्यनजर गर्दै युवालाई मोटरसाइकल मर्मतको तालीम दिने उहाँको भनाइ छ । तालीम लिएका युवाले ग्यारेज स्थापना गरी रोजगारी पाउने छन् ।

गत वर्षबाट कार्यक्रम सञ्चालन गर्ने तयारी गरे पनि विविध कारणले कार्यक्रम सञ्चालन हुन नसकेको भन्दै उहाँले यस वर्षदेखि निरन्तररुपमा लागू भएको जानकारी गराउनुभयो । चन्दननाथ नगरपालिका जुम्लाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटले मेयर रोजगार कार्यक्रमका लागि नगरपालिकाले रु १० लाख रकम विनियोजन गरेको बताउनुभयो । नगरपालिकाभित्र रहेका १० वटै वडाका एक÷एक जना इच्छुक युवालाई तालीममा सहभागी गराइने छ ।