काठमाडौं, असोज २३ । सरकारले संयुक्त राज्य अमेरिकाको टेक्सस र क्यालिफोर्निया राज्यमा कन्सुलर कार्यालय राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकामा रहेका प्रवासी नेपाली मञ्चसहित नेपाली संघ संस्थाका नेताहरुसँग गर्नुभएको प्रतिवद्धताअनुसार स्वदेश फर्केलगत्तै टेक्सस र क्यालिफोर्नियामा कन्सुलर कार्यालय राख्ने निर्णय भएको हो ।
संयुक्त राष्ट्रसंघको ७९औं महासिभामा अमेरिकाको न्यूयोर्क भ्रमणमा रहेको बेला प्रधानमन्त्री ओलीसँग प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी, अमेरिका राष्ट्रिय कमिटी र टेक्सस राज्य कमिटीका नेताहरुले टेक्सस र क्यालिफोर्नियामा कन्सुलर कार्यालय राख्नुपर्ने माग गरेका थिए ।
स्वदेश फर्केपछि सो मागअनुसार मन्त्रिपरिषद बैठकबाट अमेरिकाको टेक्सस र क्यालिफोर्नियामा कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईका अनुसार मन्त्रिपरिषद बैठकले अमेरिकाको टक्सस, क्यालिफोर्नियासहित दुबइमा कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
अमेरिकाको टेक्ससमा प्रवासी नेपालीको संख्या बढेसँगै कन्सुलर कार्यालय राख्न प्रधानमन्त्री ओली सकारात्मक बन्नुभएको हो । राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा पुगेका बेला प्रधानमन्त्री ओलीलाई प्रवासी नेपाली मञ्च टेक्ससले ध्यानाकर्षण पत्रसमेत बुझाएको थियो । करिब एक लाखको हाराहारीमा नेपाली समुदायको बसोबास रहेको अमेरिकाको टेक्सस राज्य अमेरिकाकै सबैभन्दा ठूलो मध्येको एक राज्य हो ।
अन्य छिमेकी राज्यमा समेत बसोबास गर्ने नेपाली मसुदायले आवश्यक कागजपत्रलगायतको सेवा सुविधाका लागि टेक्ससको डायलसलाई केन्द्र बनाएर कन्सुलर कार्यालय राख्न सरकारलाई आग्रह गरिएको थियो ।
आफूहरुको आग्रह स्विकार गर्दै कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा प्रवासी नेपाली मञ्च टेक्ससका अध्यक्ष राजु नेपालले आभार प्रकट गर्नुभएको छ ।
परराष्ट्रका प्रवक्ता राईले टेलिफोनमार्फत मन्त्रिपरिषद्को निर्णय जानकारी गराएको बताउँदै अध्यक्ष नेपालले कार्यालय स्थापनाका लागि आफूहरुले आवश्यक समन्वय गर्ने जानकारी दिनुभयो ।
प्रवासी नेपाली मञ्च टेक्सससहित र नेपाली जनसम्पर्क मञ्चले कन्सुलर कार्यालय स्थापनाका लागि पहल कदमी लिएका थिए । यसैबीच प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, सचिवालय सदस्य तथा अमेरिका महादेश इञ्चार्ज प्रभु थापा र अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले कन्सुलर कार्यालय स्थापना गर्ने सरकारको निर्णयको स्वागत गर्नुभएको छ ।
उहाँहरुले यो निर्णयका लागि प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासहित सरकारप्रति आभारसमेत प्रकट गर्नुभएको छ ।
‘हाम्रो माग यसअघिको सरकारले सुनेन, यो सरकारले प्रवासमा रहेका प्रवासीले भोगिरहेको समस्या सुनेर समाधानका लागि दुई राज्यमा कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय लिएको छ । यो कामका लागि प्रवासमा रहेका सवै नेपालीको तर्फबाट आभार प्रकट गर्दछौं,’ जनताटाइम्स डटकमसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रवासी नेपाली मञ्चका तीनै जना नेताहरुले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्