जनता टाइम्स

१ कार्तिक २०७६, शुक्रबार १४:२३

जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसदलाई अदालतले दियो यस्तो आदेश


जनकपुर, कात्तिक १

जनकपुर विमानस्थलमा बुद्ध एयरको काउण्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोद कुमार साह साधारण तारेखमा रिहा हुनु भएको छ । निर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो उडान भर्ने क्रममा साहले बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोप छ ।

जिल्ला अदालत धनुषाका न्यायाधीश मुक्त नारायण अर्यालको एकल इजलासले साहलाई साधारण तारेखमा छोड्न आदेश दिनुभएको हो । जनकपुरबाट काठमाडौँ जाने विमान दुई घण्टा ढिलो भएको विषयमा विवाद हुँदा सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका थिए ।

सैनिक हवाई उडान ऐन २०१५को दफा ९ क को आधारमा अपराध गरेको कारणले उनिमाथि पाँच वर्षदेखि दस वर्षसम्मको कैद सजायको माग दावीसहित अदालतमा सरकारी वकिल कार्यालय मुद्दा दर्ता गरेको थियो ।