जनता टाइम्स

२७ आश्विन २०८१, आईतवार २०:४४

गृहजिल्लामा उद्योगमन्त्री भण्डारीको अठोट : मन्त्री पदसंग मतदाताको पसिना जोडिएको छ, पदको दुरुपयोग गर्दिन


बैतडी, असोज २७ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले आफुले पाएको पदको सम्मान हुनेगरी काम गर्ने बताउनुभएको छ।

बैतडीबाट निर्वाचित सांसद समेत रहेका भण्डारीले आइतबार बैतडीको मेलौलीस्थित एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पदसँग नेता कार्यकर्ता र मतदाताको रगत,पसिना जोडिएकाले सबैको अभिभारा पुरा गर्नेगरी काम गरिरहेको बताउनुभयो।

उहाँले सरकारलाई सफल बनाउनका लागि सबै नेता कार्यकर्ताहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो।

जनताको आग्रहमा आएका योजना कार्यान्वयन गरिने मन्त्री भण्डारीको भनाई छ । पार्टीको सिफारिसका योजनामा पनि जनताको योजना जोडिएको छ की छैन भनेर परिक्षण गरेर मात्रै कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।

मन्त्री भण्डारीले माओवादी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड नेतृत्वको निवर्तमान सरकारले एकलौटी ढंगबाट बजेट ल्याएको बताउनुभएको छ । प्रचण्ड नेतृत्वको सरकारले एमालेसँग कुनै समन्वयन नगरी बजेट पारित गरेको उहाँको जिकिर छ ।

‘विगतको सरकारमा म पनि सहभागि थिए, तर म आवद्ध पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै समन्वयन हुने गरेको थिएन, मैले अघि सारेका योजनाहरु कटौती गरिए,’ उहाँले भन्नुभयो । चालु आर्थिक वर्षका योजनाहरु पनि परिमार्जन गरेर कार्यान्वयन गरिने छन्।

परिणाममुखी योजना ल्याउनुपर्छ

उत्पादनका क्षेत्रमा बजेट ल्याउनुपर्नेमा मन्त्री भण्डारीले जोड दिनुभएको छ। स्थानीयतहदेखि प्रदेश र संघीय सरकारबाट परिणाम दिने खालले बजेट विनियोजन गरि कार्यान्वयन गर्नुपर्नेमा मन्त्री उहाँको जोड छ ।

‘अहिलेसम्म कति सडक पुगे ? सडकको कति उपयोग भयो ? यसमा ध्यान दिनुपर्छ । बजेटले प्रतिफल दिएन भने यसको के अर्थ ? त्यसैले कुनैपनि योजनाले परिणाम दिनैपर्ने हुन्छ,’ उहाँले भन्नुभयो । उत्पादन वृद्धि गर्ने र रोजगारी सृर्जना गर्नेगरी विकास निर्माणका योजना ल्याउनुपर्नेमा मन्त्री भण्डारीको जोड छ ।