विराटनगर, कात्तिक २। विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमलेश कर्ण कारागार चलान भएका छन। जिल्ला अदालत मोरङले कर्णलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि मोरङ कारागार चलान भएका हुन ।
शुक्रबार न्यायाधीश अरुणकुमार झाको इजलासले कर्णलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनुभयो । सहकारीको रकम हिनामिना र अपचलन गरेको आरोपमा माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था सञ्चालक तथा ऋणीविरुद्ध जिल्ला अदालत मोरङमा बिहीबार मुद्दा दायर गरिएको थियो ।
प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीका अध्यक्ष कर्णसहित उपाध्यक्ष सनातन मण्डल, सचिव उत्तम ढुंगेल, सञ्चालक प्रभाकर थापासहित १०९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । मुद्दा दायर गरिएका मध्ये २१ जना सहकारीका सञ्चालक र पूर्वसञ्चालकहरु हुन। अन्य खराब ऋणीहरु हुन् ।
सहकारीको बचत हिनामिना प्रकरणमा अध्यक्ष कर्ण मात्रै पक्राउ परेका छन । अन्य सञ्चालक र ऋणीलाई फरार प्रतिवादी बनाइएको छ। प्रहरी अनुसन्धानका क्रममा सो सहकारीबाट ७ करोड ८४ लाख २६ हजार ३ सय ३५ रुपैयाँ हिनामिना भएको देखिएको थियो ।
सहकारी १०३ बचतकर्ता २ करोड ४२ लाख ६ हजार ७ सय ५१ रुपैयाँ बचत फिर्ताको मागसहित निवेदन दिएका छन् । सहकारी संस्थाबाट १ सय ८३ जनालाई ६ करोड ३४ लाख ७६ हजार २ सय २६ रुपैयाँ ऋण लगानी भएको छ । तर धितो लगानी भएको केही ऋणको फाइलमा ऋणीको हस्ताक्षर समेत नभएको तथ्य भेटिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्