जनता टाइम्स

३ कार्तिक २०८१, शनिबार ०९:५५

सुनको भाउ लगातार बढेको बढ्यै, यस्तो छ कारण


काठमाडौं, कात्तिक ३ । पछिल्लो समय सुनको भाउ बढेको बढ्यै छ । सुनको भाउले नयाँ–नयाँ रेकर्ड बनाउँदै गएको छ । यसरी भाउबढदै जाँदा यो साता सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय पुगेको छ । बिहीबार १ लाख ६२ हजार ४ सय रहेको सुन शुक्रबार प्रतितोला २ हजारले बढेको हो ।

दशैंपछि खुलेको बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय थियो । एक सातामै सुनको भाउ प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढेको छ । दशैंअघि असोज २३ गते सुनको भाउ प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको थियो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली अन्य धेरै कारणसँगै अमेरिका र युरोपका राष्ट्रिय बैंकहरूले ब्याजदर घटाउँदा त्यसको असर सुनमा देखिएको बताउनु हुन्छ । यस्तै महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य अन्तर्राष्ट्रिय बजारमा नै सुनको माग बढ्दा भाउ बढेको बताउनु भयो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिआउन्स (२.६६ तोला) करिब २७ सय अमेरिकी डलर छ।

सन् २०२७ सम्म ३ हजार प्रतिआउन्स पुग्ने अन्तर्राष्ट्रिय प्रक्षेपण सन २०२५ मै पूरा हुने बताउँदै पूर्वअध्यक्ष शाक्य आगामी ५–६ महिनाभित्र नेपालमा नै सुनको मूल्य प्रतितोला करिब २ लाख पुग्ने जिकिर गर्नुहुन्छ । संसारभर नै अशान्ति भइरहेकाले ठूला लगानीकर्तालाई लगानीका बाटा धेरै नहुँदा सुनमा आकर्षण बढेको उहाँको भनाई छ ।

मध्यपूर्वी एसियामा भइरहेको द्वन्द्व पनि सुनको मूल्यवृद्धिको कारण बनिरहेको छ । इजरायल र हमासबीच जारी द्वन्द्व, लेबनानसँग पनि द्वन्द्व छेडेको र इरानलगायतका देशहरूले पनि के गर्छन् भन्ने अन्योलको स्थिति रहेको हुँदा सुरक्षित लगानीको रूपमा सुनलाई लिइएको शाक्यको विश्लेषण छ ।

यस्तै अमेरिकी मुद्राको उचारचढावले पनि सुनमा लगानी बढाएको बुझाइ महासंघको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा आन्तरिक बजारमा मागमा संकुचन आएको अध्यक्ष रसाइलीको भनाई छ ।

उहाँका अनुसार प्रतिदिन करिब ४० किलोको सुनको बजार अहिले करिब १२–१५ किलोमा सीमित भएको छ । गत वर्षको चाडपर्व र अहिले चाडपर्वमा सुनको खपत घटेको उहाँले बताउनु भयो । नेपाल राष्ट्र बैंकले २० किलोको कोटा दिएको छ तर अहिले त्यति पनि खपत हुन नसेकेको देखिन्छ । महासंघले भने कोटा वृद्धि गरी ३० किलो बनाउन माग गरेको छ ।