वासिङ्टन डिसी (अमेरिका), कात्तिक ८ । विश्व बैंकले नेपाललाई विपद व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र–डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने भएको छ ।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुनुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्वन्धी सम्झौता भएको हो ।
बैंकको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्रि डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालन सम्वन्धि सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । बजेटरी सहायताको रुपमा उपयोग हुने उक्त रकम विपद पुनःस्थापना, पुनरुत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको ५५ औं वार्षिक बैठकका सिलसिलामा दक्षिण एसिया क्षेत्रका गभर्नरहरुको संयुक्त बैठकमा सहभागी हुन अमेरिका आउनु भएको हो । अर्थमन्त्री पौडेलले बैठकमा सहभागी भई नेपालको आवश्यकता र सहयोगको अपेक्षाबारे आफ्नो धारणा राख्नुभएको छ ।
अर्थमन्त्री पौडेलले आफ्नो अमेरिका बसाईलाई देशको हितमा फलदायी बनाउन सक्रियता बढाउनु भएको छ । यही क्रममा उहाँले आज नै विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमका उच्च पदस्थ पदाधिकारीहरुसँग अलग–अलग भेटवार्ता गर्नुभएको छ । उक्त भेटवार्ताको क्रममा विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष मार्टिन रेजर र कार्यकारी निर्देशक वेम्पी सपुत्रसँग बहुपक्षीय सहायता परिचालनका विविध विषयमा छलफल भएको छ ।
सो अवसरमा अर्थमन्त्री पौडेलले विश्व बैंकले नेपालको यातायात, उर्जा, शिक्षा लगायतका पूर्वाधार विकास एवं सामाजिक क्षेत्रका कार्यक्रम तथा परियोजनामा पुर्याएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा सहयोगको क्षेत्रलाई अझ फराकिलो र प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।
त्यसैगरी, एसियाली विकास बैंकका उपाध्यक्ष यिङमिन याङसँग पनि अर्थमन्त्री पौडेलको आजै विश्व बैंक मुख्यालयमा भेटवार्ता भएको छ । भेटकोक्रममा एसियाली विकास बैंक नेपालको मुख्य विकास साझेदारको भूमिकामा रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार एवं सामाजिक विकासको क्षेत्रमा थप सहायता परिचालन गर्न आग्रह गर्नुभएको छ ।
उहाँल्े आज नै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीको पनि भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा उहाँले निगमले नेपालमा निजी क्षेत्रको विकासमा लगानी बढाउँदै लगेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा निगमका गतिविधिमा प्रभावकारिता ल्याउन र थप विस्तार गर्न आग्रह गर्नुभयो ।
अर्थमन्त्री पौडेलले सरकारको तर्फबाट निजी क्षेत्रको विकासमा अनुकूल वातावरण बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । अर्थमन्त्री पौडेल बुधवार बिहान वासिङ्टन डिसी आइपुग्नु भएको थियो । अमेरिका ओर्लनसाथ उहाँले आफ्नो सक्रियता बढाउनु भएको छ ।
अमेरिकामा रहँदा उहाँले नेपाली समुदायका अगुवासहित प्रवासी नेपालीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका महादेश इञ्चार्ज प्रभु थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्