जनता टाइम्स

९ कार्तिक २०८१, शुक्रबार १५:५१

सामान्य प्रशासनमन्त्री गुप्ताको ठोकुवा : सरकार अघि बढिसक्यो, अब ठगहरूले उन्मुक्ति पाउँदैनन


काठमाडौं, कात्तिक ९ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सहकारीको रकम अपचलन गरी बचतकर्तालाई रुवाउने जोसुकै भए पनि ठगहरूले अब उन्मुक्ति नपाउने सरकारको बटमलाइन सुनाउनु भएको छ ।

सहकारी पीडितहरूलाई न्याय दिलाउन वर्तमान सरकार क्रियाशील रहेको र ठूलो परिमाणको रकम अपचलन गरेको अभियोगमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धानका साथै कारबाही प्रक्रिया समेत अगाडि बढाइरहेको बताउँदै मन्त्री गुप्ताले अब कोही पनि ठगहरू राज्यको नजरबाट भाग्न नसक्ने प्रष्ट पार्नुभएको हो । उहाँले सहकारीको रकम अपचलन गरेको आरोपमा व्यक्तिमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो ।

‘विगतमा विभिन्न प्रकरणमा विभिन्न व्यक्तिहरू अनुसन्धान र कारबाहीको दायरामा आइसकेका छन् । अहिले सहकारीको प्रसङ्ग उठेको छ । सहकारी ठगलाई कारबाही गर्दा मात्रै पीडितले न्याय पाउने कुरामा वर्तमान सरकार प्रष्ट छ’, मन्त्री गुप्ताले भन्नुभयो, ‘सहकारीको रकम दुरुपयोग अभियोगमा पक्राउ परेका रवि लामिछानेविरुद्ध अनुसन्धान नै हुनुहुँदैन भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्दोलित भएको छ । अहिले त कस्तो देखियो भने सहकारी ठगलाई कारबाही नगर्ने हो भने यी दलहरू खुसी रहने र कारबाही प्रक्रिया अगाडि बढाउँदा दुःखी हुने अवस्था सृजना भयो । तर, सरकार अघि बढिसक्यो, अब कोही पनि ठगहरूले उन्मुक्ति पाउने अवस्था छैन ।’

फरक धार भनेर उदाएको पार्टीले नै सुशासनको पक्षमा भएको कामको विरोध गर्नु नेपाली जनताका लागि दुर्भाग्य भएको उहाँको भनाइ छ । मन्त्री गुप्ताले यसअघि विभिन्न प्रकरणमा एमाले र कांग्रेसका उच्च तहका नेताहरूलाई समेत जेल चलान गरिएको र त्यस विषयमा ती पार्टीले कुनै पनि आन्दोलन नगरेको स्मरण पनि गराउनु भयो । तर, रास्वपासहित प्रतिपक्ष दलहरूले सरकारविरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गर्नुले ती दलहरू सुशासनको पक्षमा नरहेको स्पष्ट भएको उहाँको भनाइ छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री गुप्ताले प्रतिपक्ष दलहरूको आन्दोलनबाट सरकार नडगमगाउने र दोषीलाई कारबाही गरेरै छाड्ने पष्ट पार्नुभयो ।