जनता टाइम्स

१० कार्तिक २०८१, शनिबार १०:०६

अन्तराष्ट्रिय समुदायलाई गभर्नर अधिकारीको जनाउ : नेपालको वित्तीय अवस्था सन्तोषजनक छ


वासिङटन डिसी (अमेरिका), कात्तिक १० । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र स्थिर, मुद्रास्फीति सन्तुलित एवं विदेशी मुद्रा सञ्चिति राम्रो रहेको बताउनुभएको छ ।

शुक्रबार सार्क फाइनान्स गभर्नर्स फोरमको ४६औँ बैठकलाई यहाँ सम्बोधन गर्दै गभर्नर अधिकारीले उक्त धारणा राख्नुभएको हो । ‘नेपालको विदेशी मुद्रा सञ्चितिले १३ महिनाका लागि वस्तु तथा सेवाको आयातका लागि पर्याप्त छ । नेपालको विप्रेषण आप्रवाहको वृद्धि र वित्त बजार स्थिर रहेको छ,’ गभर्नर अधिकारीले भन्नुभयो ।

उक्त फोरममा सार्क राष्ट्रका गभर्नरहरूको सहभागिता रहेको थियो । सार्क फाइनान्स गभर्नर्स फोरममा क्षेत्रीय वित्तीय सहयोग, त्यस क्षेत्रमा सहकार्यात्मक अनुसन्धान तथा क्षमता अभिवृद्धिको विषयमा समेत छललफल भएको जनाइएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा गभर्नर अधिकारी सहभागी भएर विश्व बैङ्कको विभिन्न बैठकमा सहभागिता जनाउँदै आउनुभएको छ । यसैगरी, ‘साइडलाइन’ बैठकअन्तर्गत शुक्रबार नै गभर्नर अधिकारीले पाकिस्तानका गभर्नर जमेल अहम्मदसँग भेटवार्ता गर्नुभएको थियो ।