जनता टाइम्स

१२ कार्तिक २०८१, सोमबार २३:०७

अर्थतन्त्र सुधारका लागि सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको प्रधानमन्त्री ओलीको जनाऊ


काठमाडौं, कात्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र सुधारका लागि सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी दिनुभएको छ ।

नेकपा एमाले निकट उद्योगी ब्यापारीहरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको अवधारणापत्र बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिनुभएको हो । उहाँले अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीले पनि उत्पादन तथा उत्पादकत्व वृद्धिमा आफ्नो ठाउँबाट काम गर्नुपर्ने धारणा पनि राख्नुभयो । उहाँले संगठनका अगुवाको व्यवसाय र उत्पादन तथा व्यवहार आदर्शयुक्त हुनुपर्ने बताउनुभयो ।

महासंघले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल समेटेर ४० पृष्ठे अवधारणापत्र बुझाएको छ । एमालेको जनसंगठन रहेको महासंघका संयोजक भगीरथ सापकोटा र महासचिव बालकृष्ण शिवाकोटीसहितको प्रतिनिधिमण्डलले ‘सुद‍ृढ अर्थतन्त्र निर्माणको आधारः सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ को लक्ष्य लिइएको सुझावपत्र सोमवार प्रधानमन्त्री ओलीलाई बुझाएको हो ।

महासंघले गत भदौ ७ गते निजी क्षेत्रका समस्या र समाधानका विषयमा आयोजना गरेको छलफल कार्यक्रमबाट आएका निचोड र उद्योगी व्यवसायीले भोगिरहेका समस्या तथा समाधानका उपायलाई अवधारणापत्रमा समावेश गरेको छ ।

सुझावपत्रमा अहिले देशको अर्थतन्त्रका साथै उद्योगी व्यवसायीहरु जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यसलाई सुधार गर्न सरकारले तत्काल नीतिगत सुधार गर्नुपर्नेमा जोड दिइएको छ ।