काठमाडौं, कात्तिक १३ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट दुईपटक ऋण लिएको प्रमाण भेटिएको छ ।
रबिसहित २४ जनाले सहकारीको रकम अपचलन गरेको प्रमाण भेटिएपछि अदालतबाट पक्राउ पुर्जी लिएर रकम अपचलनबारे काठमाडौं प्रहरीले अनुसन्धान अघि बढाएको छ ।प्रहरी वृत्त कालिमाटीको फाइल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा झिकाइ थप अनुसन्धान अघि बढाइएको हो ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई हुन । फरार रहेका रबि लामिछानेका मिडिया पार्टनर राईविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’बाट रेड नोटिस जारी भएको छ । पोखरास्थित सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा जीबीलाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर भइसकेको छ । रबिलाई पनि पक्राउ गरी पोखरामा हिरासतमा राखेर बयान लिने काम भइरहेको छ ।
प्रहरीका अनुसार अनुसन्धानको क्रममा कुल २७ हजार बचतकर्ता रहेको स्वर्णलक्ष्मीबाट रास्वपाका सभापति लामिछानेले पनि दुईपटक ऋण लिएको तर फिर्ता नगरेको प्रमाण भेटिएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जीबी र रविले संयुक्त नाममा ऋण लिएको पाइएको हो । २०७८ भदौ ४ गते दुवै जनाले ‘फोर ह्विलर लोन’ र २०७८ कात्तिक १ गते ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएको पाइएको छ । ‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार लिएको तर ३२ लाख २१ हजार फिर्ता नगरेको स्वर्णलक्ष्मीको रेकर्डमा भेटिएको छ ।
त्यस्तै, ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार लिएर २९ लाख ५२ हजार नतिरेको अनुसन्धानबाट भेटिएको छ । स्वर्णलक्ष्मीबाट गैह्रकानुनी रुपमा रवि र जीबीसहितको नाममा प्रवाह भएको लोनको ३५ थान भौचर प्रहरीले बरामद गरेको छ । प्रहरीले रवि लामिछानेको नामसमेत भएको ३५ थान भौचर बरामद भएका जानकारी दिएको छ ।
स्वार्णलक्ष्मी सहकारीमा २७ हजार निक्षेपकर्ताले २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको तथा १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको निष्कर्ष छ । प्रहरीले अनुसन्धानको क्रममा अध्यक्ष जीबी राईका साढु भाइ दीपक लामासहित २४ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको छ । लामा जीविभन्दा अगाडि अध्यक्ष रहेका थिए ।
काठमाडौँ महानगरपालिका–३ जोरपाटी बस्दै आएका दीपक लामा पोखरास्थित सूर्यदर्शन र बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनमा पनि संलग्न रहेका छन । लामाबिरुद्ध पोखरा र रुपन्देही अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।
यस्तै स्वर्णलक्ष्मीका कोषाध्यक्ष कुमार रम्तेल पोखरास्थित जिल्ला कारागार कास्कीमा पुर्पक्षका लागि थुनामा छन् । काठमाडौं प्रहरीले रम्तेललाई झिकाएर बयान गर्ने तयारी भइरहेको जनाएको छ ।
सो सहकारीबाट पीडित ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । काठमाडौँका प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले स्वर्णलक्ष्मीबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सो सहकारीको रकम अपचलनबारे कालीमाटी वृतमा दर्ता भएको थियो, सो फाइल परिसरमा ल्याएर अनुसन्धान अघि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्